Monday, March 24, 2014

यान्त्रिक पुलको कमाई एक बर्षमा सवा करोड

निजी  क्षेत्रले निर्माण गरेको मुलुककै पहिलो कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले एक बर्षमा १ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । केवलकार मोडलमा निर्माण भएको यान्त्रिक पुलले टिकट बिक्री, भाडा तथा ब्याजबाट एक बर्षमा यति धेरै रकम आम्दानी गरेको हो ।
२०६९ फागुन २१ गतेदेखि ब्यबसायिक रुपमा सञ्चालनमा आएको यान्त्रिक पुलले एक वर्षमा सबै खर्च कटाएर १ करोड १६ लाख रुपैयाँ बचत गरेको अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।
पर्वत उद्योग वाणिज्य संघको पहलमा पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बाग्लुङको दक्षिण क्षेत्र बलेवा जोड्ने गरी यान्त्रिक पुल निर्माण भएको हो  । पुल निर्माणका लागि ४ सय ५८ जना शेयर सदस्यले  करोड ८४ लाख १७ हजार ५ सय रुपैयाँ लगानी गरेका थिए ।
यान्त्रिक पुल सञ्चालनमा आएपछि  दुई घण्टाको पैदल दुरी ४  मिनेटमा छोटिएको छ । पुलमा स्थानीय वासिन्दाका साथै आन्तरिक र बाह्य पर्यटकको समेत घुइँचो लाग्छ । दुई वटा यान्त्रिककार जडान भएको पुलमा एउटा कारमा ८ जना मानिस अट्न सक्ने छन् । कम्पनीले प्रत्येक यात्रुका लागि ५ लाख रुपैयाँको विमा पनि गरेको छ । शुक्रबार भएको कुश्मा –बलेवा यान्त्रिक पुल लिमिटेडको पहिलो साधारण सभाले आगामी साउनमा लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले बलेवाको प्रसिद्ध भैरवस्थानसम्म केवलकार बिस्तार गर्नका लागि संभाब्यता अध्ययन गर्ने निर्णय पनि गरेको छ । भैरवस्थानसम्म करिब साढे २ किलोमिटर लामो केबलकार निर्माण गर्न सकिने सभावना रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्वीटजरल्याण्डको प्रबिधिमा निर्माण गरिने पुल करिब १२ करोडमा निर्माण हुन सक्ने अनुमान छ ।
यसैगरी यान्त्रिक पुलले जोडेको बलेवामा सुबिधा सम्पन्न रिर्सोट निर्माण गर्ने योजना पनि साधारणसभाले पारित गरेको छ । यान्त्रिकपुल लिमिटेड आफैले निर्माण गर्ने वा भाडामा दिन सकिने प्रस्ताब पनि अघि सारिएको छ । त्यस क्षेत्रमा ब्यबस्थित पार्क र वनभोजस्थल समेत निर्माण गरिने भएको छ । २० वर्षदेखि बन्द भएको बलेवा विमानस्थल सञ्चालनमा ल्याउन पनि सरोकारवालासंग छलफल गर्ने निर्णय भएको महासचिव केदारनाथ शर्माले बताउनुभयो ।