Wednesday, February 11, 2015

उपत्यकामा चल्ने केबलकारको फ्रान्सले अध्ययन गर्ने

उपत्यकामा चल्ने केबलकारको फ्रान्सले अध्ययन गर्नेकाठमाडौ, माघ २७ – उपत्यकाको सडकमाथि केबलकार सञ्चालनको सम्भाव्यता अध्ययन अनुदानमा फ्रान्स सरकारले गरिदिने भएको छ।

फ्रान्स सरकारले अध्ययनका लागि एक कम्पनी छनोट गरी नेपालसँग सोमबार सम्झौता गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वरिष्ठ इन्जिनियर तथा आयोजना संयोजक सुरेश पौडेल र फ्रान्स सरकारले छनोट गरेको कम्पनी फ्रेन्च इन्जिनियरिङ कम्पनी कन्सोरसियमका अध्यक्ष पास्कल रोक्सबीच सोमबार सम्झौता भएको हो। सम्झौता समारोहमा मन्त्रालयका सचिव तुलसी सिटौला र नेपालका लागि फ्रान्सकी राजदूत मार्टिन बसेरियोको उपस्थिति थियो।
‘उपत्यकाको सडकमा वैकल्पिक यातायातका साधनको आवश्यकता थियो,’ सम्झौता समारोहमा सचिव सिटौलाले भने, ‘सम्म्भाव्यता अध्ययनको परिणामपछि यसलाई सहयोग पुर्‍याउनेछ।’ वातावरणमैत्री समेत हुने भएकाले सडकमाथिको केबलकार सञ्चालन प्रभावकारी हुने दाबी गरिएको छ। सम्झौताअनुसार उक्त कम्पनीले ९ महिनाभित्र अध्ययन गरिसक्नुपर्नेछ। उक्त सम्झौता दुवै देशको पहलमा भएको राजदूत बसेरियाले बताइन्।
‘फ्रान्स नेपालमा लगानी बढाउन चाहन्छ,’ उनले भनिन्। उपत्यकाको सडकमाथि केबलकार निर्माणका लागि नेपाल तथा फ्रान्स दुवै देशका लगानीकर्ताले चासो देखाउँदै आएका छन्।
त्यसपछि मन्त्रालयले करिब ९ महिनाअघि औपचारिक रूपमा पत्र लेखी अध्ययन गरिदिन फ्रान्स सरकारलाई अनुरोध गरेको थियो। सम्झौताअनुसार पहिलो चरणमा अध्ययन दुई फरकफरक रुटमा हुनेछ। सोमबार सम्झौता समारोहमा जनाइएअनुसार नारायणगोपाल चोकबाट रत्नपार्क हुँदै लखनखेल र अर्को कलंकीबाट चाबेल हुँदै बौद्धसम्मको अध्ययन गरिनेछ। यी दुवै रुटको एउटा बिन्दु भने रत्नपार्क कायम गरिनेछ।
ट्राफिक जाम कम गर्ने र पर्यटन प्रवर्द्धन गर्ने भन्दै केबलकार सञ्चालन गर्न स्थापित ‘काठमाडौं एयर ट्रम एन्ड केवलकार प्रालि’ ले पनि यसबारे सरकारसँग चासो देखाएको थियो। उक्त कम्पनीले दुवै रुटमा पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ। ‘दुई देशबीच यसै कम्पनीका अध्यक्ष श्याम श्रेष्ठले निरन्तर दुई वर्षदेखि मध्यस्थताको गरिरहनुभएको थियो,’ सिटौलाले भने। श्रेष्ठ नेपाल फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष पनि हुन्।
प्रारम्भिक अध्ययनबाट सम्भावना देखिएको, निजी लगानीकर्ताले लगानी गर्न तत्परता देखाइसकेको र अध्ययनका लागि फ्रान्स सरकारसमेत सकारात्मक देखिएकाले सबैको पहलमा मन्त्रालयले पत्राचार गरेको जनाएको छ।
उक्त कम्पनीले गरेको पूर्वसम्भाव्यता अध्ययनअनुसार गाडीमा १ घन्टा लाग्ने बाटो केबलकारबाट १५ मिनेटमा पुग्न सकिनेछ। उक्त कम्पनी फ्रान्स र नेपाली लगानीकर्ताबीचको हो। सहरमा केबलकार सञ्चालनमा फ्रान्स नै सफल मानिने भएकाले अध्ययन गर्न प्रस्ताव गरी सम्झौता गरिएको मन्त्रालयले जनाएको छ। उक्त प्रकृतिको यातायातको साधन नेपालमा मनकामना दर्शन प्रालिले चितवनको दारेचोकबाट गोरखाको मनकामना मन्दिर जानका लागि सञ्चालन गरिएको छ। थप आधा दर्जनभन्दा बढी कम्पनीहरूले विभिन्न जिल्लामा केबलकार सञ्चालनको तयारी थालेका छन्।
सडकमाथि सञ्चालन गर्ने भनिएको केबलकारको प्रकृति पनि मनकामनाको जस्तै हो। व्यस्त सडकमाथि धेरैजसो विकसित मुलुकमा केबलकार सञ्चालन गरिएको छ। उक्त यातायातको साधन उपत्यकाका व्यस्त सडकमा सञ्चालन गर्न सके ट्राफिक जामको समस्या निकै घट्ने प्रस्ताव गरेको कम्पनीको दाबी गरेको छ। प्रस्तावअनुसार २ वर्षभित्र दुई रुटमा केबलकार सञ्चालन गर्न सकिनेछ। निर्माण लागत करिब १३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। उक्त केबलकार अहिलेकै सडकको छेउमा छुट्टै खम्बा राखेर सञ्चालन गरिनेछ। निश्चित दूरीमा यात्रु चढाउने र ओराल्न संरचना बनाउनुपर्ने हुन्छ। एक रुटमा कति वटा डिब्बा हुने र कतिजना यात्रु अट्ने भन्ने विषय यो अध्ययन प्रतिवेदनपछि मात्रै टुंगो लगाउनेछ। कम्पनीको पूर्वसम्भाव्यता अध्ययनअनुसार सडकमाथि सञ्चालन गरिने केबलकारको भाडा भने अहिले सञ्चालन गरिरहेका सार्वजनिक सवारी साधनभन्दा केही महँगो हुनेछ। ट्याक्सीभन्दा ५० प्रतिशत सस्तो हुने प्रक्षेपण छ।
स्रोत: कान्तिपुर

Tuesday, February 10, 2015

चन्द्रागिरी केवलकार ६० प्रतिशत काम सकियो, साउनमा सक्ने गरी निर्माण

Cable car, Chandragiri, Kathmandu Fun Park, Prithivi Narayan Shah

 काठमाडौं । काठमाडौंको थानकोटबाट रमणीय चन्द्रागिरी डाँडामा पुग्न केवुलकार निर्माणको काम ६० प्रतिशत पुरा भएको छ । काठमाडौं फनपार्क प्रालिले बनाइरहेको केबलकारको बटम स्टेसन र टप स्टेसनमा धमाधम काम भइहरेको छ भने बीचबीचमा पोल बनाउने काम पनि अघि बढेको छ ।

डिजाइन सेलको आर्केटेक्ट र सुपरभिजनमा निर्माण भइरहेको केबलकारको बटम स्टेशनमा भौतिक संरचनाको सबै काम सक्किएको छ । बटम स्टेसनको भवनलाई फिनिसिङ (रंगरोगन, प्लास्टर) गरेर सरसामान जोड्ने काम मात्रै बाँकी रहेको फनपार्क प्रालिका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी केवुलकारको टप स्टेसनमा साइट विकास र विस्तारको काम भइरहेको छ ।
‘टप स्टेसनमा मन्दिरको बनाउनको लागि जग हाल्ने काम सक्किसकेको छ,’ पौडेलले भने, ‘भ्यू टावरको पनि जग बसालिसकिएको छ ।’
प्रालिका अनुसार टप स्टेसनमा रिसोर्ट बनाउने काम बाहेक सबै काम साउनभित्रै सक्ने गरि धमाधम काम भइरहेको छ । यहाँ तीनसय जना कामदारले काम गरिरहेका छन‍् ।

केवलकारमा मान्छे बोक्न प्रयोग हुने गोन्डोला
अष्ट्रियाको डुपल मेयर कम्पनीबाट केवुलकार, लठ्ठा लगायत सबै उपकरण आइसकेका छन् । ‘केबलकारको लागि विदेशबाट आउनुपर्ने सबै सामान काठमाडौं झरिसकेका छन्,’ पौडेलले भने, ‘अब भौतिक सरचना बनेपछि जोड्ने काम सुरु भइहाल्छ ।’

यस्तो हुनेछ टप स्टेसन
थानकोटबाट केबलकार चढेर गएपछि त्यहाँ पुग्ने यात्रीले सबैभन्दा पहिले इच्छापुरेश्वरम महादेवको दर्शन गर्न पाउनेछन् । सँगैको भ्युटावरबाट एकसय ६० डिग्रीसम्म देखिने हिमाल र उपत्यकाले मनै रोमान्चित बनाउनेछ ।
महालंगुर हिश्रृंखलादेखि अन्नपू्र्ण हिमश्रृंखालसम्म हेर्दै रिसोर्टमा बसेर मजा लिन सक्नेछन् । आकाश खुलेका बेला यहाँबाट हिमालदेखि तरार्इसम्म देखिन्छ ।
पौडेलका अनुसार टप स्टेशनमा पुगेपछि यात्रुहरुले जिप फ्लायर, रक क्लाइम्बिङ गर्न सक्नेछन् भने बोटानिकल गार्डेन समेत घुम्न पाउनेछन् ।
यसैगरी फुडस्टल र रेष्टुरा पनि रहने छ । त्यति मात्रै होइन समुद्री सतहबाट करिव २५ सय ४० मिटर उचाइमा रहेको यो डाँडामा खुल्ने फोर डी थियटरमा बसेर फिल्मको मज्जा समेत लिन सकिन्छ ।

यस्तो बन्दैछ मन्दिर
केवुलकारसँगै चन्द्रागिरीमा काठमाडौं फनपार्क प्रालिले आकर्षक हिन्दु मन्दिर पनि निर्माण गर्नेछ । कम्पनीले चन्द्रागिरी डाँडामा इच्छापुरेश्वर महादेव मन्दिर निर्माण गर्न लागेको हो ।
पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्नुपहिले इच्छापुरेश्वर महादेवको दर्शन गरि काठमाडौं उपत्यकामा विजयी गरेको किंवदन्ती अनुसार यो ठाउँमा पशुपतिनाथको जस्तै झल्को दिने गरि मन्दिर बनाइएको छ ।
पौडेलले भने, हामी ठूलो मेहनतसहित मन्दिर निर्माण गरिरहेका छौं, पछिल्ला २०/३० वर्षमा यस्तो मन्दिर बनेको छैन्, उनले भने ।
सय बेडको रिसोर्ट
डाँडामा सय बेडको तीन तारे सुविधासहितको रिसोर्ट पनि बन्ने छ । रिसोर्टमा काठमाडौंबाट छुट्टि मनाउने जाने मात्र होइन कार्यालयकै काम लिएर जानेहरुले पनि चन्द्रागिरीको रमणीय वातावरणमा समय विताउन सक्नेछन् ।
थ्रीलिङ अनुभव
११ वटा पोल भएर थानकोटबाट चन्द्रागिरी पुग्ने केवुलकारको कुल लम्बाइ २.४ किलोमिटर हुनेछ । जसबाट आठ मिनेटमा चन्द्रागिरी डाँडो पुगिनेछ । अहिले फटाफट पैदल हिँड्नेलाई चन्द्रागिरी पुग्न दुई घण्टाभन्दा बढी समय लाग्छ ।
११ मध्ये एउटामा एउटा पोलदेखि अर्को पोलसम्मको दूरी नौसय मिटर छ । जसले गर्दा केबलकारमा यात्रा गर्ने यात्रुलाई ‘थ्रीलिङ’ अनुभव गराउँछ,’ उनी भन्छन्, ‘यात्रुले केबलकार चढ्दा रोमान्चसँगै रमाइलो अनुभव गर्नेछन् ।’
प्रतिघण्टा एक हजार यात्रु क्षमतासहित केवुलकारको पूर्वाधार जडान गरिनेछ । एउटा गोन्डोलामा आठजना यात्रु अट्छन् । मनकामनामा यात्रु बोक्ने गोन्डलाभन्दा यो ठूलो हो । मनकामनामा एउटा गोन्डलाले छ यात्रु मात्रै बोक्छ ।
सुरुमा प्रतिघण्टा पाँच सय जनालाई चन्द्रागिरी पुर्‍याउने लक्ष्य लिएर सुरु गरिएको भए पनि अहिले त्यसलार्इ बढाएरु प्रतिघण्टा एकहजार जनालाई लैजाने गरी पूर्वधार तयारी भैरहेको छ ।
बटम स्टेसनमा दुईसय कार, चारसय मोटरसाइकल र एकसयवटा बस पार्किङ गर्न मिल्ने गरि पार्किङ स्लट बनाइएको छ ।

चन्द्रागिरी डाँडो र त्यस तलको २० हेक्टर जमिन कम्पनीले ४० वर्षका लागि सरकारसँग लिजमा लिएको हो । यो अर्को ४० वर्षका लागि नविरकण गर्न सकिने व्यवस्था छ । केवुलकार सञ्चालनमा आए पछि त्यहाँको पर्यावरणीय सुन्दरतालाई पनि आफूहरुले उत्तिकै महत्व दिने प्रालिले जनाएको छ ।
केवुलकार, मन्दिर, फनपार्क र होटलसहित सबै परियोजनामा आईएमई समूह, भाटभटेनी, अम्बिकाप्रसाद पौडेल र वेलायतमा बस्दै आएका नेपाली व्यवसायीहरु उत्तम र नवराज नेपाल, उमा जीसीले लगानी गरेका छन् ।
सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट, ग्रान्ड, सिदार्थ र प्रभु विकास बैंकले रुपैयाँको कन्सोर्टियम कर्जा लगानी गरेका छन् ।
केवलकारसँगै काठमाडौंबाट नजिकै रहे पनि ओझेल परेको चन्द्रागिरी र त्यसपारि रहेको मकवानपुरको चित्लाङलाई विशेष प्रवर्द्धन हुने अपेक्षा सर्वसाधरणले गरेका छन् । पर्यापर्यटन, अर्गानीक फार्मिङले त्यहाँको जीवनस्तरमा सुधार हुनेछ ।
सय वर्ष अघि यही बाटोबाट काँधमा बोकाएर गाडी काठमाडौँ भित्र्याइएको भए पनि अहिलेसम्म त्यहा पर्याप्त पूर्वधार निर्माण हुन सकेको छैन्,  केवलकारसँगै चित्लाङमा विकास हुन थालेपछि स्थानीयवासिन्दाले पनि सहयोग गर्न थालेका छन् ।

बटम स्टेशनमा काम गर्दै कामदार

बटम स्टेशनको संरचना तयार भएको छ

थानकोटमा तयार भएको बटमस्टेशन

बटम स्टेशनमा एकदेखि तीन नम्वरका टावर रहनेछन्, त्यसको काम धमाधम भैरहेको छ

चन्द्रगिरी डाँडाबाट देखिने दृष्य

चन्द्रागिरीबाट हिमालदेखि तरार्इको मैदानसम्म देख्न सकिन्छ

परियोजनाका लागि आवश्यक पर्ने पानी ‘वाटरलिफ्ट’ गर्न पाइप विछ्यार्इंदै

भ्युटावरका लागि जग हालिंदै

केवलकारको टप स्टेशन

परियोजनामा तीन सयभन्दा बढी कामदारले काम गरिरहेका छन्

परियोजना साउनसम्म सक्नेगरी काम भैरहेको छ

काम चाँढो सक्न परियोजनालार्इ दुर्इ हिस्सामा बाँढेर दुर्इ वटा ठेकेदारमार्फत काम भैरहेको छ

परियोजनालार्इ निर्माण सामाग्रीको अभाव नहुने गरी व्यवस्थापन गरिएको छ
टप स्टेशन र बटम स्टेशनको बीच भागमा पर्ने जंगलमा टावर बनाउन कामदारको बसार्इ
केवलकारको सामान समेत डपलमेयरबाट अाइसकेको छ