Friday, June 14, 2013

सिन्धुलीमा नेपालकै लामो यान्त्रिक पुल निर्माण

सिन्धुलीमा नेपालकै दोस्रो लामो यान्त्रिक पुल निर्माण
सिन्धुली र उदयपुर जोड्ने गरी नेपालकै  लामो यान्त्रिक पुल निर्माण भएको छ । ७० लाख रुपैयाँको लागतमा कमला नदीमा यान्त्रिक पुल निर्माण गरिएको हो । पुल निर्माणको लगभग सबै काम सम्पन्न भइसकेको पुल निर्माण समितिका अध्यक्ष गुर्जबहादुर बुढाथोकीले जानकारी दिए । पुल निर्माणले कमलाखोंच क्षेत्रका हर्षाही, टाँडी, लदाभीरलगायत आधा दर्जनबढी गाविसका सर्वसाधारणलाई सिन्धुली सदरमुकाम तथा उदयपुरको सदरमुकाम गाईघाट, जनकरपुरजस्ता शहरमा जान–आउन सजिलो हुने भएको छ । 

उक्त पुल जिल्लाकै सबैभन्दा लामो र तनहुँको कोत्रेपछिको दोस्रो लामो यान्त्रिक पुल भएको अध्यक्ष बुढाथोकीले बताए । यसको लम्बाइ ६ सय ३५ मिटर रहेको छ । यो पुल निर्माणका लागि आर्थिक वर्ष (आव) ०६६÷६७ मा योजना निर्माण तयारी गरिएको थियो । ०६७ सालबाट निर्माण थालिएको उक्त पुल रकम अभावका कारण अहिले (आव २०६९÷७०) मा निर्माण सम्पन्न भएको हो । यो पुल निर्माणका लागि गरीबी निवारण कोष, जिल्ला विकास समिति, गाविस, संसद् विकाष कोष तथा स्थानीय बासिन्दाको लगानी रहेको छ ।

संसद् विकास कोष र जिविससँग भएको सम्झौताअनुसारको रकम आउन ढिलाइ भएका कारण समयमा पुल निर्माण सम्पन्न हुन नसकेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनका अनसार एक हप्ताभित्रमा सबै काम सकेर पुल उद्घाटन गरिनेछ । ‘पुल निर्माणले यस क्षेत्रका स्थानीयहरू उत्साहित भएका छन्,’ उनले भने । पुल नहुँदा स्थानीयवासीलाई कमला नदीमा आउने बाढीले हरेक वर्ष दुःख दिने गरेको थियो । त्यस्तै, कमलाखोंचमा गोगन, करेतजस्ता सर्पको डसाइ पनि अर्को समस्या हो । यसबाहेक औषधोपचार तथा दैनिक उपभोग्य वस्तुको ओसारपसारमा समेत समस्या हुने गरेको थियो ।वर्षेनि वर्षायाम शुरू भएदेखि करीब ६ महीनासम्म कमलानदीमा आउने बाढीले कमलाखोंचवासी सदरमुकामसँग सम्बन्धविच्छेदजस्तै भएर बस्नुपरेको थियो । पुल निर्माणले स्वास्थ्योपचार तथा नदी वारपार गर्न सहज हुने भन्दै स्थानीयहरू खुशी भएका छन् । पुल बनेपछि उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने समस्याबाट मुक्ति मिल्ने आशा बढेको यहाँका सर्वसाधारणको भनाइ छ ।

स्रोत :अभियान दैनिक

Tuesday, June 11, 2013

उपत्यकाका सडकमा केवलकार !

उपत्यकाका सडकमा केवलकार ! Road Cable Car S
बढ्दो सवारी जामलाई न्यूनकरण गर्न सडक फराकिलो पारिरहेको सरकारले दीर्घकालीन समाधानका लागि केवलकार सञ्चालन गर्ने अवधारणासमेत अघि बढाएको छ ।

निजी क्षेत्रले समेत चासो देखाएपछि सरकारले उपत्यकाका सडकमाथि 'अर्वन केवलकार' सञ्चालन गर्ने अवधारणा अघि सारेको हो । यसको बृहत् सम्भाव्यता अध्ययन गर्न भौतिक तथा योजना निर्माण मन्त्रालयले फ्रान्स सरकारलाई अनुरोध गरेको छ ।

मन्त्रालयका सचिव तुलसी सिटौलाका अनुसार दुई साताअघि फ्रान्स राजदूतावासमार्फत त्यहाँको सरकारलाई काठमाडौंका सडकमाथि केवलकार सञ्चालन गर्न बृहत् अध्ययनको अनुरोध गरिएको हो ।

'फ्रान्सबाट प्रतिक्रिया आएको छैन, आउने प्रक्रियामा होला,'

उनले भने, 'राजदूतलगायत फ्रान्स सरकार सकारात्मक रहेको बुझिएको छ ।'

सिटौलाका अनुसार फ्रान्सका केही लगानीकर्ता र नेपालका निजी क्षेत्रले अर्वन केवलकार सञ्चालन गर्नेबारे चासो देखाएका छन् । त्यसपछि अध्ययनका लागि सरकारले पनि प्रक्रिया अघि बढाएको हो ।

यता, निजी क्षेत्रद्वारा स्थापित 'काठमाडौं एयर ट्रम एन्ड केवलकार प्रालि' ले सञ्चालन अनुमतिका लागि केहीअघि सरकारसँग प्रस्ताव गरेको थियो । उक्त कम्पनीले पनि सामान्य अध्ययन गरेर सम्भाव्य हुने ठहर्‍याएपछि सरकार पनि अग्रसर भएको हो । 'उक्त कम्पनीले सामान्य प्रकृतिको अध्ययन गरिसकेको रहेछ,' उनले भने, 'सम्भावना देखिएकाले थप प्रक्रिया अघि बढाइएको हो ।'

उक्त कम्पनीले लगनखेलदेखि नारायणगोपलचोक र बौद्धदेखि कुलेश्वरसम्मको सडकमाथि केवलकार सञ्चालन गर्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार गाडीमा १ घन्टा लाग्ने बाटो केवलकारबाट १५ मिनेटमा पुग्न सकिने उल्लेख छ । 'व्यस्त सहरमा केवलकार सञ्चालनमा फ्रान्स सफल मुलुक मानिन्छ,' सिटौलाले भने, 'त्यसैले सरकारले उसैसँग सवन्वय गर्न लागेको हो ।'

यस्तै प्रकृतिको केवलकार नेपालमै पनि सफल मनिएको छ । मनकामना दर्शन प्रालिले चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म सञ्चालन गरेको केवलकार मुलुककै उदाहरणीय हो ।

'सडकमाथि सञ्चालन गर्ने केवलकार मनकामनाकै जस्तै हो,' सिटौलाले भने ।

धेरै विकसित मुलुकले ट्राफिक जाम कम गर्न सडकमाथि केवलकार सञ्चालन गरेका छन् । कम्पनीका अनुसार केवलकारका लागि सडक छेउमा छुट्टै खम्बा खडा गर्नुपर्छ । निश्चित दूरीमा यात्रु चढाउने र ओराल्न संरचना बनाउनुपर्ने हुन्छ । एक रुटमा कतिवटा डिब्बा हुने र कतिजना यात्रुलाई सेवा दिने भन्ने विषय बृहत् अध्ययनपछि निर्धारण गरिने कम्पनीले जनाएको छ ।

फ्रान्सका प्राविधिकहरूकै समन्वयमा कम्पनी स्थापना गरी काम अघि बढाएका हौं,' कम्पनीका अध्यक्ष श्याम श्रेष्ठले भने, 'यहाँ अनुमति पाए पनि नपाए पनि अन्य देशमा यातायातमै लगानी गर्ने पक्षमा छौं ।'

कम्पनीकी कार्यकारी निर्देशक एवं उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाका अनुसार आफ्नो प्रस्तावअनुसार सरकार र अन्य निकायले सहयोग गरे २ वर्षभित्र केवलकार सञ्चालन हुनेछ । 'सरकारसँग मिलेर वा हामी एक्लै पनि सञ्चालन गर्न तयार छौं,' राणाले भनिन्् । यसको लागत १३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यो आयोजना सम्भाव्य र उत्कृष्ट भएकाले धेरै प्रतिष्ठित घराना लगानी गर्न तयार गरेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार राणा, पञ्चकन्या गु्रपका प्रदीप श्रेष्ठ, लक्ष्मी गु्रपका लक्ष्मण श्रेष्ठ र आईएमई गु्रपका चन्द्र ढकालले लगानी गर्ने अनौपचारिक सहमति जनाएका छन् । 'त्यसमा प|mान्सका केही संघसंस्था वा निजी कम्पनीको संलग्नता पनि हुनेछ,' उनले भने, 'त्यहाँको सरकारले पनि चासो देखाएको छ । सरकारले नै लगानी गर्ने विषयमा पनि छलफल भइरहेको छ ।'

प्रदूषण नहुने भएकाले वातावरणमैत्री हुने, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र छलफलको चरणमा रहेको मेट्रो रेलको निर्माण लागतभन्दा निकै सस्तो हुने दाबी प्रस्तावकको छ ।

'सरकारले मेट्रो रेलको लागतको तुलनामा अर्वन केवलकार यो निकै सस्तो र कम समयमा निर्माण हुने पनि देखिएको छ,' राणाले भनिन््, 'जसले बनाए पनि उपत्यकाको सहरका लागि यातायात साधनमा केवलकारै उपयुक्त हो भन्ने सुझाब हामीले सरकारलाई दिएका छौं ।'

निर्माण भइसकेका पोल, डब्बा र यात्रु चढाउने ओराल्ने ठाउँमा चाहिने सामग्री निर्माण भइसकेकै आउने भएकाले केवलकार संरचना निर्माण गर्दा सडक र अन्य संरचनालाई कुनै असर नगर्ने कम्पनीले जनाएको छ ।
Source: Kantipur