Tuesday, March 21, 2017

नेपालमा यसकारण आवश्यक छ रोपवे

डोरी (रोप)मा झुन्डिएर एक ठाउँबाट अर्को ठाउँमा जाने यातायातको प्रणाली नै रोपवे हो । यस्तो रोपवेको एउटै पकेटमा १० हजार किलोग्रामसम्मको तौल बोक्ने क्षमता हुने रोपवे नेपालका अध्यक्ष गुणराज ढकालले जानकारी दिए । नेपालजस्तै भौगोलिक अवस्थिति भएको स्विट्जरल्यान्डमा १८ सयवटा रोपवे रहेको तथ्यांक छ । तर, नेपालमा रोपवेको विकास हुन सकिरहेको छैन । रोपवेसम्बन्धी अध्ययन गर्ने र आवश्यक काम गरिरहेको संस्था रोपवे नेपालका अध्यक्ष ढकालले नेपालमा रोपवेको आवश्यकताबारे यसरी आफ्नो भनाइ राखे:
भौगोलिक अवस्थाका कारण उपयुक्त
रोपवे यातायातका धेरैवटा प्रणालीमध्ये एक हो । नेपालको भौगोलिक अवस्थिति र कठिन धरातलका लागि यो उपयुक्त यातायात प्रणालीका रूपमा लिइन्छ । नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षकका लागि पनि यो उपयुक्त हुने देखिएको छ । किनकि वातावरणीय असरको हिसाबले सडक निर्माण गर्दा ठूलो परिमाणमा रूख काट्नुपर्छ । यसले स्वाभाविक रूपमा असर पु¥याउँछ । तर, रोपवेको सञ्जाल निर्माण गर्दा टावर राख्ने ठाउँमा मात्र रूख काट्नुपर्ने आवश्यकता पर्छ । फेरि जंगलमाथिबाट रोपवे जाने भएकाले पनि निर्माणपछि पनि कुनै प्रकारको असर पार्दैन । त्यस्तै, जस्तोसुकै भौगोलिक धरातलमा पनि रोपवेका लागि उपयुक्त बनाउन सकिन्छ । त्यो हिमाल होस् वा पहाडी, साथै तराई क्षेत्रमा नै किन नहोस् । यो सबै ठाउँमा प्रभावकारी हुन्छ ।
अन्य पूर्वाधारको निर्माणमा सहयोगी
रोपवे निर्माण आफैँमा पूर्वाधार हो । तर, यो यस्तो पूर्वाधार हो । जसले अन्य पूर्वाधारलाई पनि सम्भावनायोग्य बनाउँछ । साथै अन्य पूर्वाधार निर्माणमा सहयोगी भूमिका खेल्छ । विशेषगरी स्थान हेरेर जलविद्युत् आयोजना निर्माण गर्न, पहाडको माथिल्लो क्षेत्रमा पर्यटकीय पूर्वाधारको रूपमा होटेल तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्न, घर र भवन निर्माण गर्नका लागि आवश्यक निर्माण सामग्री ओसार्न रोपवे प्रभावकारी हुन्छ । साथै यसले मानिसलाई आवश्यक पर्ने सामानलाई मात्र ओसार्ने काम गर्दैन । मानिसलाई पनि आफ्नो गन्तव्यसम्म पुग्न सहयोग पुर्‍याउँछ ।
रोपवे कम प्राथमिकतामा किन ?
नेपालमा राणा शासनको समयदेखि नै रोपवे सञ्चालनमा रहेको थियो । विशेषत चन्द्रशमशेरको पालामा यसलाई सञ्चालनमा ल्याइएको थियो । तर, त्यो दीर्घकालीन भएको देखिएन । दीर्घकालीन हुन नसक्नुको कारण तत्कालीन समयमा उचित मर्मतसम्भार हुन सकेन । त्यसले गर्दा निश्चित समयमा सेवा दिए पनि दीर्घकालीन हुन सकेन । यसले गर्दा कतिपयलाई यसप्रति नकारात्मक धारणासमेत रहेको छ । तर, यथार्थमा चाहिँ त्यो अति नै पुरानो प्रविधिमा आधारित रहेको थियो । त्यसलाई स्तरोन्नति गर्ने काममा पनि चासो दिइएन र एउटा समयमा त्यसले काम गर्न छाड्यो । तर, अहिले आधुनिक यन्त्रहरूको विकास भएको छ । यसले गर्दा सहज र सजिलो मात्र होइन, मर्मत गर्न र दीर्घकालीन बनाउन पनि सकिने भएको छ । यसकारण सरकारी तहबाटै रोपवे निर्माणमा उच्च प्राथमिकता दिन आवश्यक भइसकेको छ ।
अत्याधुनिक मेसिन तथा उपकरण
अब निर्माण गरिने रोपवेलाई पुरानो प्रविधिमा मात्र आधारित बनाइनुहुँदैन । यसलाई अत्याधुनिक प्रविधिमा जानुपर्ने आवश्यकता छ । पुरानो प्रविधि भनेको पहिले झोलुंगे पुलको अभावमा नदी तर्नका लागि रोपवेको प्रयोग गरिन्थो । अहिले पनि त्यस्तो प्रविधिलाई अत्याधुनिक बनाउने र प्रयोगमा ल्याउन सकिने सम्भावना रहेको छ । त्यसका लागि आवश्यक पार्टपुर्जा र आवश्यक सामानको भने स्थानीय रूपमा नै प्राप्त गर्न सक्ने गरी काम गर्नुपर्नेछ । त्यस्ता सामान बाहिरबाट आयात गर्नेभन्दा पनि देशभित्र तयार गर्ने वा उत्पादन गर्नेतर्फ योजना बनाउन आवश्यक छ । त्यस्तै, रोपवे सञ्चालन गर्दा नयाँ निर्माण गर्नुभन्दा मर्मतसम्भार महत्वपूर्ण हुन्छ । रोपवेलाई दीर्घकालीन बनाउने हो भने यसको मर्मतसम्भारलाई विशेष ध्यान दिनुपर्छ । त्यस्तै, नयाँ प्रविधिको प्रयोगमा प्रोत्साहित गर्ने र प्रवद्र्धन गर्नेतर्फ पनि सोच्न आवश्यक छ । उदाहरणका लागि सडक निर्माण गर्दा पनि पहिले हातले वा घरेलु उपकरणको प्रयोग गर्ने गरिन्थ्यो । तर, अहिले अधिकांश सडक निर्माणमा डोजरको प्रयोग हुने गरको छ । त्यस्तै, गरी रोपवे निर्माणमा पनि अध्याधुनिक उपकरणको प्रयोग गरेर सहज र प्रभावकारी बनाउन सकिन्छ ।
वातावरणीय प्रभाव न्यून
रोपवेको अर्को महत्वपूर्ण पक्ष भनेको यसले वातावरण संरक्षणमा पु¥याउने योगदान हो । ठूला आयोजना निर्माण गर्दा वातावरणीय अध्ययन अनिवार्य हुन्छ । तर, वातावरणको अध्ययनले धेरै ठूलो असर पु¥याउने भएकाले ठूलो विरोध हुने गरेको छ । जबकि भौगोलिक रूपमा अप्ठ्यारो ठाउँमा रहेको आयोजनालाई पनि वातावरणलाई कुनै प्रभाव नै नपारी रोपवेको सहयोगबाट निर्माण सम्भव बनाउन सकिन्छ । यसकारण थोरै क्षतिबाट ठूला आयोजना निर्माण गर्न सकिने र वातावरणलाई दखल नदिईकन विकास गर्न सकिने सम्भावना उच्च हुन्छ ।
अध्ययनविना सडकलाई प्राथमिकता गलत
नेपालको भौगोलिक अवस्थितिअनुसार सबै ठाउँमा सडक पुग्न सम्भव देखिँदैन । तर, हामीले पछिल्ला दशकमा सडकलाई मात्र उच्च प्राथमिकता दिइरहेका छौँ । जुन गलत छ । यसले एकातिर दीर्घकालीन रूपमा लगानी खेर गइरहेको छ भने अर्कोतिर जमिनको नाश भइरहेको छ । ठाउँअनुसार कुन स्थानमा कस्तो यातायात प्रणाली सञ्चालन गर्ने भन्ने विषयमा स्पष्ट भएपछि मात्र सडक हुने ठाउँमा सडक, रेल हुने ठाउँमा रेल, रोपवे हुने ठाउँमा रोपवे सञ्चालन गर्नु आवश्यक हुने थियो । तर, नेपालमा अन्धाधुन्ध सडकमा मात्र लगानी गर्ने गरिएको छ । जुन गलत भइरहेको छ । त्यति मात्र होइन, हरेक गाविसमा जाने अनुदान रकम पनि अधिकांश सडकमा खर्च हुने गरेको छ । यसले सबै ठाउँमा नभए पनि केही स्थान यस्ता छन्, जहाँ सडक यातायात सम्भव हुँदैन । त्यस्तो ठाउँमा लगानी खेर जाने देखिन्छ । साथै, कुनै यस्ता ठाउँ छन् जहाँ रोपवे प्रभावकारी हुन सक्थ्यो । त्यहाँ रोपवेको तयारी थालनी हुनु त परको विषय, रोपवे हुन सक्छ भन्ने थाहा पनि छैन । यसकारण भौगौलिक अवस्थितिअनुसार यातायात प्रणाली छनोट गर्न ढिलाइ भइसकेको छ ।
रोपवेमा दुर्घटना हुँदैन
रोप (डोरी)मा जोडिएको प्रविधिको माध्यमबाट आवतजावत र ओसारपसारका लागि प्रयोग गरिने प्रणाली नै रोपवे हो । यसमा दुर्घटना हुने सम्भावना नै हुँदैन । जबकि नेपालमा सडक दुर्घटनाबाट हरेक वर्ष हजारभन्दा बढी मानिसले ज्यान गुमाइरहनु परिरहेको छ । यसरी ज्यान गुमाउनुको एउटा कारण भौतिक रूपमा सम्भव नभएको ठाउँमा सडक निर्माण र सञ्चालन गरेका कारण दुर्घटना भएर हो । त्यस्तै, सडकमा हिँड्ने सवारीसाधनमा डिजेल पेट्रोल, ड्राइभरलगायत खर्च आवधिक रूपमा हुने गरेको छ । जबकि रोपवेमा नेपालमै उत्पादन हुने विद्युत्को प्रयोग गरेर सञ्चालन गर्न सकिन्छ । लागत अत्यन्त न्यून रहेको छ । मर्मतसम्भारको लागि पनि सडककोजति आवश्यक पर्दैन । आउँदा दिनमा विद्युत्को खपत वृद्धि गर्न र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि पनि रोपवे उपयुक्त विकल्प हुन सक्छ । यसलाई उद्योगका रूपमा विकास गर्न आवश्यक छ ।
समुदाय तहमा रोपवेको आकर्षण
समुदाय तहमा रोपवेको आकर्षण रहेको देखिन्छ । देशभरका ६० ठाउँमा रोपवे नेपालले मात्र सर्वेक्षण र थप अध्ययन गरिरहेको छ । धेरै ठाउँमा अध्ययनकै अवस्थामा रहेकाले सञ्चालनमा भने आइसकेका छैनन् । पर्वतको कुस्मामा रहेको यान्त्रिक पुल सञ्चालनमा रहेको छ । यो पनि एक प्रकारको रोपवे नै हो । त्यस्तै, चन्द्रागिरि र मनकामना केबलकार पनि रोपवे नै हो । रोपवे मूलतः यातायातको साधन हो । सरकारले यसलाई प्रवद्र्धन गर्ने हो भने लगानी पनि यहीँ उठ्ने सम्भावना रहेको छ । तर, सरकारले प्राथमिकतामा नराखेका कारण पनि यो छायामा परिरहेको छ ।
सरल नीतिगत व्यवस्था आवश्यक
रोपवे निर्माणका लागि नेपालमा सरल कानुनी व्यवस्था छैन । यसले गर्दा लगानीकर्ताहरू पनि आकर्षित भइरहेका छैनन् । यस क्षेत्रमा लगानी वृद्धि गर्न लगानीमा सहुलियत र कम ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्न आवश्यक छ । अहिले कानुनी आधार बनाउने काममा पनि ढिलाइ भइरहेको छ । यसले पनि यो क्षेत्र अघि बढ्नमा चुनौती भएको छ । त्यस्तै, रोपवेको क्षमता र दूरीजस्ता विषय पनि स्पष्ट पार्न आवश्यक छ । अहिलेसम्म रोपवेको यति मिटरको यति लगानी भन्ने छैन । तर, भूगोल र अन्य अवस्थामा निर्धारित हुने गरेको छ । यो सडकभन्दा चाहिँ सस्तो नै पर्छ ।

Friday, September 9, 2016

बडिमालिका यात्रा

Wednesday, September 7, 2016

ओलीको चन्द्रागिरी यात्रा (फोटो फिचर)

  • ‘म पनि गेन्टिङ हाइल्याण्ड गएको थिएँ, योजना (केवल कार बनाउने) त मेरो पनि थियो, पैसा थिएन'
-शेखर अधिकारी, काठमाडौं
भाद्र २२, २०७३- दुई साता थाइल्याण्डमा उपचार र आराम गरेर फर्किएका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली उपत्यकाको पहिलो केवल कार चन्द्रागिरीमा देखिए ।
ओली पत्नी राधिकासहित पार्टीका अधिकांश शीर्ष नेताहरुसहित बिहान पौने १० बजेतिर चन्द्रागिरी पुगेका थिए । चन्द्रागिरी हिल्स प्रा.लि.को ४ अर्बभन्दा बढीको प्रोजेक्ट अवलोकनमा पहिलोपटक पुगेका ओली ४ घण्टाभन्दा बढी चन्द्रागिरीमै बिताए ।
ओलीले प्रोजेक्ट अवलोकनमात्रै गरेनन्, नेपाल पर्यटन बोर्डको ‘घुमफिर वर्ष’ प्रबर्द्धनका लागि पार्टीको पर्यटन इलाका कमिटीले चन्द्रागिरी डाँडामा आयोजना गरेको कार्यक्रममा पनि सहभागी भए । चन्द्रागिरीमा ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल, चारजनै उपाध्यक्ष बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सचिव प्रदीप ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलसहित दुई दर्जन शीर्ष नेता पुगे ।
चन्द्रागिरी बेसक्याम्पमा सबै नेताहरुलाई चन्द्रागिरी हिल्स प्रा.लि.का अध्यक्ष चन्द्र ढकालसहितले स्वागत गरे । बेसक्याम्पको होटलमै ब्रेकफास्टपछि नेताहरु केवल कारबाट डाँडातिर गए ।
...
केवल कारको गोन्डामा ओलीसँगै पत्नी राधिका, चन्द्रागिरी केवल कारका चन्द्र ढकाल, प्रेस संयोजक चेतन अधिकारीसहित सुरक्षाकर्मी चढे । कमजोर स्वास्थ्यका बाबजुत पुगेका ओलीलाई चन्द्रागिरी डाँडाको अपर बेस स्टेशनदेखि मन्दिर र सेमिनार हलसम्म पुग्न गाडीको व्यवस्था गरिएको थियो । उनी अपस बेस स्टेशनदेखि सेमिनार हल पुगे । 
...
सेमिनार हलमा केही मिनेट बसेपछि उनी भालेश्वर मन्दिर दर्शनका लागि गए । उनीसँगै उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरुले पनि मन्दिर दर्शन गरे । 
मन्दिरकै छेवैमा रहेको ऐतिहासिक चन्द्रागिरी डाँडाबाट काठमाडौं अवलोकन गरे । जहाँ पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गरेको किंवदन्ती सुनाइयो । उनले पनि जुँगामा ताउ लगाए । उद्यमी ढकालले भने, ‘अध्यक्षज्यू भालेश्वर मन्दिरमा जे मागे पनि पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।’
ओलीलाई पार्टीकै नेताले सोधे, तपाईं के माग्नुहुन्छ ? ओलीले माग्दिन भन्दै मुन्टो हल्लाए । ‘म वर माग्छु,’ नेता केशव बडालले भने, ‘देशमा शान्ति, सुव्यस्था, सुशासन र विकास होस् ।’ 
...
अवलोकनमा ओलीले ढकाललाई लगानी रकम, लगानीकर्ता र सेवा सुविधानबारे सोधे । उनले केही दिनअघि केवल कार लामो समय अड्किएको भन्नेबारे पनि जिज्ञासा राखे । ढकालले प्रोजेक्ट कन्सेप्टदेखि केवल कार रोकिएकोबारे बेलिबिस्तार लगाए ।
पछि सेमिनार हलमा भएको कार्यक्रममा ढकालले सन् २००१ मा मलेसियाको गेन्टिङ हाइल्याण्डमा जाँदा आफूलाई केवल कार बनाउने योजना फुरेको बताए । उनले बैंकको सामान्य कर्मचारीदेखिदेखि सुरु भएको व्यवसायिक यात्रा पनि सुनाए ।
ढकालले डेडिकेटेड विद्युत् लाइन नहुँदा केवल कार रोकिने समस्या छिटफुट देखिएको बताउँदै नेताहरुको ध्यानाकर्षण गराए ।
...
संक्षिप्त कार्यक्रमका एक्ला वक्ता ओलीले ढकालको कन्सेप्टको प्रशंसा गर्दै चन्द्रागिरी केवल कारको सफलताको कामना गरे । ‘म पनि गेन्टिङ हाइल्याण्ड गएको थिएँ, योजना त मेरो पनि थियो,’ उनले भने, ‘तर पैसा थिएन, चन्द्रजीसँग पैसा थियो, काम गर्नुभयो ।’
ओलीले नेपाल प्राकृतिकरुपमा धनी रहेको बताउँदै एकपटक नेपाल घुम्नैपर्ने सन्देश दिनुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको ३ अर्ब पर्यटक नेपाल भित्र्याउने योजनालाई भने हावादारी भएको बताए । 
डेडिकेटेड विद्युत् लाइन जोडिदिन गरेको आग्रहमा ओलीको भनाइ थियो, ‘अहिलेको सरकारलाई भनौंला, तर गर्लाजस्तो लाग्दैन, अली समय पर्खनुस् अर्को सरकारले तपाईंको माग पूरा गर्छ ।’
ओलीले ढकाललाई उनको प्रोजेक्टका लागि केही सुझाव दिए । होटलमा सबै खालको आर्थिक हैसियत भएकाले खर्च गर्ने वातावरण बनाउन आग्रह गरे । सँगै भने, ‘अब पृथ्वीनारायण शाहले जुँगामा ताउ लगाएको सालिक पनि राख्नुस् ।’