Sunday, July 7, 2013

तुइन चढेर स्कुल


























वर्षा यामको  सुरुवातसँगै पश्चिम नेपालका साथै भारतको उत्तराखण्डमा बाढी आएको कुरा तिमीहरूले सुनेका, पढेका छौ होला ।

महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगा आसपासमा ठूलो क्षति पुर्‍यायो । त्यहाँका बालबालिकालाई खान, बस्न र विद्यालय जान समस्या भइरहेको छ । तिमीहरूले कणर्ाली अञ्चलका बारेमा पनि सुनेका छौ होला । कर्णाली हाम्रो देशको सबैभन्दा विकट अञ्चल हो । कर्णालीको मुगु जिल्लामा वर्षा मात्रै होइन, हरेक मौसममा कसरी स्कुल जाने भन्ने चिन्ता हुन्छ ।

देशको सबैभन्दा ठूलो रारा ताल पनि मुगुमै पर्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण रारा तालको जिल्ला भए पनि मुगुमा कर्णाली नदीले गर्दा नजिकैका गाउँहरूलाई पनि टाढाटाढा बनाइदिएको छ ।

नदीमा पुल नभएका कारण साना विद्यार्थीहरू जोखिमपूर्ण तरिकाले तुइनमा झुन्डिएर विद्यालय जाने-आउने गर्न बाध्य छन् । तुइन भनेको नदी वारिपारि पोल गाडेर टाँगिएको डोरी हो जसमा सानो काठ बाँधेर मानिसहरू झुन्डिन्छन् र डोरीमा सर्दैसर्दै नदीपारि पुग्छन् । बीचमा डोरी चुडिएमा, थकाइ लागेमा वा डराएमा खस्ने सम्भावना पनि हुन्छ ।

यस्तो डरलाग्दो तुइनमा पनि मुगुका मानिसहरू र साना विद्यार्थीहरू दिनहुँ वारपार गर्छन् । कतिपय त यही खतराका कारण विद्यालय जाँदैनन् । 'सुरुमा डर लाग्थ्यो, अहिले त डर लाग्न छोड्यो,' जिमा गाविसको सीप गाउँका धनबहादुर विष्टले भने, 'तुइनमा चढेको बेला नदीतिर हेर्दा आँखा घुम्छ तैपनि तुइन नचढे स्कुल जान पाइँदैन ।'

जिमा गाविसमा प्राथमिक विद्यालय मात्र भएकाले निम्नमाध्यमिक र माध्यमिक तहको अध्ययन गर्न नदी पार गरेर कालै गाविस पुग्नैपर्ने बाध्यता छ ।

'पाँच कक्षा पास गरेपछि तुइन तर्न थाल्नुपर्छ । दिनहुँ बिहान-बेलुका तुइन चढ्ने भएकाले सबै साथीहँ सँगसँगै जान्छौं,' ७ कक्षामा पढ्ने विष्टले भने, 'एक्लै हुँदा बढी डर लाग्छ । साथीहरूसँग हुँदा त रमाइलो लाग्छ ।'

कणर्ाली नदी अधिकांश गाविस छोएर बग्ने भएकाले सबैजसो गाउँमा यस्तै समस्या छ । पुल भएको ठाउँमा पुग्न तीन घन्टाभन्दा बढी हिँड्नुपर्ने भएकाले उनीहरू तुइनको छोटो बाटो प्रयोग गर्छन् । 'तुइनबाट जाँदा १५ मिनेटमा पुगिन्छ, पैदल हिँड्दा ३ घन्टा बढी हिँड्नुपर्छ,' १० कक्षा पढ्ने जिमाकै जेठाबहादुर बूढाले भने, 'हामीजस्ता ठूलो कक्षामा पढ्नेले गाउँका सबै साना भाइबहिनीहरूलाई तुइनमा वारपार गराउनुपर्छ । विद्यालय जाँदा र आउँदा सबै साथीहरू आए कि आएनन् भनेर राम्ररी गणना गर्नुपर्छ ।'

बाढी अाएको बेला, नदी बढेको बेला र पानी परेको बेला नदी पार गर्न कठिन हुने उनले बताए । 'नदी ठूलो भएमा तुइनको नजिकनजिक पानी आइपुग्छ, त्यतिबेला तुइनमा झुन्डिन डर लाग्छ,' उनले भने, 'झुन्डिइरहन नसकेमा नदीमा खस्ने जोखिम हुन्छ ।'

केटीहरूसमेत तुइन चढेर स्कुल जान सिपालु भइसकेका छन् । 'हामी पनि केटाहरू जत्तिकै झुन्डिन सक्छौं । ६ कक्षादेखि तुइन चढ्नैपर्ने भएकाले डर मानेर काम छैन,' ८ कक्षा पढ्ने कमला विष्टले भनिन्, 'डराएपछि पढाइ छोड्नुपर्छ । त्यसैले पढ्नकै लागि भए पनि तुइन चढ्ने आँट गर्नुपर्छ ।'
-स्रोत: कान्तिपुर - दुर्गालाल केसी

No comments:

Post a Comment