![यान्त्रिक पुलमा यात्रु बढे](http://www.ropewaynepal.com/images/large/34d9cbc968e0171446316e62a6d5b27b.jpg)
साउनको दोस्रो सातामा दैनिक ६ देखि ७ सय यात्रुले यात्रा गरिरहेका छन् । यसअघि दैनिक ४ सयदेखि ५ सय यात्रुले मात्रै यात्रा गर्दै आएका थिए । यात्रु संख्या बढेपछि दैनिक ४० हजारु रुपैयाँ संकलन भैरहेको कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका सचिव केदारनाथ शर्माले जानकारी दिए । “खेतीपातीको मौसम सकिएकाले यात्रुको चाप बढ्न थालेको छ,” उनले भने, “पर्यटक पनि बढेका छन् ।” सचिव शर्माका अनुसार असारमा दैनिक औसत ३१ हजार रुपैयाँ यान्त्रिकपुलको आम्दानी थियो भने जेठमा ४५ हजार र वैशाखमा ४८ हजार रुपैयाँ दैनिक आम्दानी हुँदै आएको थियो । नियमित पुल प्रयोग गर्नेमा बलेवा क्षेत्रका यात्रु बढी छन् । बलेवा क्षेत्रका र नियमित रूपमा यात्रा गर्ने यात्रुलाई सहुलियतदरमा एकतर्फी ७५ रुपैयाँका दरमा भाडा लिने व्यवस्था छ भने विद्यार्थी र बालबालिकालाई ४० रुपैयाँ तथा अन्य यात्रुलाई एकतर्फी १ सय रुपैयाँ भाडा लिइँदै आएको छ ।
गत माघदेखि व्यावसायिक सञ्चालनमा आएको कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले अहिलेसम्म ५५ लाख रुपैयाँको आर्थिक कारोबार गरेको सचिव शर्माले जानकारी दिए । “खर्च कटाएर ४२ लाख रुपैयाँ बचत भएको छ,” शर्माले भने । यान्त्रिक पुलमा सबैभन्दा बढी दुईतर्फका ह्विल र केबुलकारको चक्कामा लाग्ने रबरमा बढी खर्च आउने गरेको छ । दुईतर्फका तीनवटा ह्विल र १६ वटा चक्कामा रबर खिइने हुनाले नियमित रूपमा फेर्नुपर्ने हुन्छ । त्यसबाहेका मासिक ६० हजार रुपैयाँ कर्मचारी र डिजेलमा खर्च आउने गरेको छ ।
पर्वत उद्योण वाणिज्य संघद्धारा प्रवद्र्धित यान्त्रिक पुल निर्माण कम्पनीले व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको दक्षिण क्षेत्र बलेवा जोड्ने गरी करिब ५ करोड रुपैयाँको लागतमा पुल निर्माण गरेको हो । दुई घण्टाको पैदलयात्रा हिँडेर पर्वत सदरमुकाम कुश्माबजार आउन बाध्य बलेवा क्षेत्रका स्थानीय अहिले ५ देखि ७ मिनेटमै कुश्माबजार आउन सकेका छन् ।
लक्ष्मीप्रसाद सापकोटा
No comments:
Post a Comment