Saturday, August 24, 2013

एक अर्बमा सिन्धुलीमा ‘मोनोरेल’ सञ्चालनको तयारी

भदौ १३, सिन्धुली । सिन्धुलीको जुनारखेती प्रवद्र्धन तथा बजारीकरणका लागि ‘मोनोरेल’ सञ्चालनमा ल्याइने भएको छ । करीब १ अर्ब रुपैयाँको लागतमा नेपालमै पहिलोपटक जापान सरकारको सहयोग तथा जुनार केन्द्रीय सहकारी सङ्घको पहलमा मोनोरेल सञ्चालनमा ल्याइन लागेको हो । जुनार उत्पादनका दृष्टिले पकेट क्षेत्र मानिएका जिल्लाका विभिन्न ६ ओटा गाविसमा मोनोरेल सञ्चालनका लागि आवश्यक पहल थालिएको जुनार केन्द्रीय सहकारी सङ्घले बताएको छ ।

उकालो–ओरालोमा सहजै चल्ने भएकाले जिल्लाका मझुवा, जलकन्या, रतनचुरा, वाशेश्वर, तीनकन्या र वितिजोर गाविसलाई लक्षित गर्दै मझुवा—वितिजोर मोनोरेल सञ्चालनको तयारी थालिएको जुनार केन्द्रीय सहकारी सङ्घका अध्यक्ष दीपक कोइरालाले बताए । ‘विद्युत् र डिजेलबाट चल्ने यो मोनोरेल जापानको ग्रामीण क्षेत्रमा सामान ढुवानीमा प्रयोग हुँदै आएको उत्कृष्ट प्रविधि हो,’ उनले भने । उत्पादित जुनारको बजारीकरणका लागि मुख्य सडकसम्म ढुवानी गर्न सहज हुने अध्ययनले देखाएपछि मोनोरेल सञ्चालनका लागि जापान सरकारसँग प्रस्ताव गरिएको कोइरालाले जानकारी दिए । ‘सहयोग गर्ने विषयमा जापान सरकार सकारात्मक भएको छ,’ उनले भने ।

जाइका नेपालका सिनियर भोल्युण्टियर गोटो सानले जुनार क्षेत्रमा गरेको अध्ययनअनुसार सिन्धुलीमा मोनोरेल सञ्चालनको सम्भावना देखिएको हो । जुनार बगैँचासम्म मोनोरेल सञ्चालन गरी सो क्षेत्रलाई ‘एग्रो टुरिजम भिलेज’का रूपमा विकसित गर्न सकिने गोटोको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सहयोगका लागि अनुरोधसहित पठाइएको प्रस्तावमा जापान सरकार सकारात्मक हुँदै पहिलो चरणमा रेल सञ्चालनका लागि आवश्यक पर्ने लिक सहयोग दिन तयार भएको कोइराला बताउँछन् । ‘मोनोरेल सञ्चालन गर्ने स्थानको सर्वे तत्काल गर्न जापानले अनुरोधसमेत गरेको छ,’ उनले भने ।

मझुवादेखि वितिजोरसम्म करीब सय किलोमिटर दूरीमा मोनोरेल सञ्चालनका लागि अनुमानित लगानी, प्राविधिक सहयोगलगायतको पत्र जापान सरकारलाई पठाएको जुनार विकास सङ्घ सिन्धुलीका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद गौतमले बताए । ‘लिकको सर्वे तथा डिजाइन तयार पार्ने काम छिट्टै शुरू हुन्छ,’ उनले भने । मोनोरेल सञ्चालनमा ल्याउन आवश्यक सहयोग जुटेका खण्डमा ४ वर्ष लाग्ने गौतम बताउँछन् । ‘सहयोगका लागि नेपाल सरकारसँग पनि अनुरोध गरेका छौं,’ गौतमले भने, ‘एक गाउँ एक उत्पादन (ओभीओपी) कार्यक्रमले पनि जुनारक्षेत्रको विकासमा सहयोग गर्ने आशा लिएका छौं ।’

सिन्धुलीमा वार्षिक १३ देखि १६ हजार मेट्रिक टन जुनार उत्पादन हुँदै आएको छ । जुनार उत्पादनको पकेट क्षेत्रबाहेक अन्य ३६ ओटा गाविसमा पनि जुनारखेती गरिँदै आएको छ । मोनोरेल सञ्चालनपछि पकेटक्षेत्र घोषणा गरिएका ६ ओटा गाविसका १९ सय जुनार कृषकलाई प्रत्यक्ष फाइदा हुनेछ ।

No comments:

Post a Comment