Monday, April 8, 2013

यान्त्रिक पुलले ल्यायो कुश्माको चहलपहल एक महिनामा १० लाखको कारोबार


सदरमुकाम कुश्मादेखि बागलुङको बलेवा जोड्ने केबलकार मोडलको ‘यान्त्रिक पुल’ सञ्चालनमा आएसँगै सदरमुकाम कुश्माबजारमा चहलपहल बढेको छ । दैनिकजसो ५ सयदेखि ८ सयसम्म यान्त्रिक पुल चढ्न आउनेको घुइँचोले चहलपहल बढेको हो । ‘हाम्रो लक्ष्य नै आन्तरिक तथा बाह्य पर्यटक बढाएर पर्यटन प्रवद्र्धनका साथै कुश्माबजारमा खस्कँदै गएको व्यापार व्यवसायको विस्तार गर्नु हो,’ कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले भने, ‘एक महिनाको अवधिमा पुल हेर्न र चढ्नका लागि आउनेको घुइँचो नै हाम्रो लक्ष्य पूरा हुने संकेत हो ।’ यान्त्रिक पुल लिमिटेडका अनुसार अहिले दैनिक ८ सय जनासम्म पुलमा आवत–जावत गर्ने गरेका छन् ।
गत फागुन २१ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको पुलमा एक महिनाको अवधिमा २० हजार टिकट बिक्री भएको अध्यक्ष श्रेष्ठले बताए । ‘एक महिनामा २० हजार टिकट बिक्री भएको छ,’ श्रेष्ठले भने, ‘अहिलेसम्म १० लाखको कारोबार भएको छ ।’ पुलमा ४ सय ३६ जनाको सेयर रहेको छ । दुईओटा यान्त्रिक कार जडान गरिएको उक्त यान्त्रिक पुलमा एउटा कारमा आठ जना (६ सय केजी) मानिस अट्न सक्ने क्षमता छ । दुवैतर्फ गरेर एक पटकमा १६ जना मानिस आवत–जावत गर्न सक्छन् । दुई घन्टाको पैदल दूरी पर्ने ठाउँमा यान्त्रिक पुलमा सात मिनेटमै पुग्न सकिने भएपछि कुश्मा तथा बलेवा क्षेत्रका बासिन्दा दंग परेका छन् । यान्त्रिक पुल चढ्नका लागि पर्वत, बागलुङका साथै म्याग्दी, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी, तनहँुसम्मका मानिसहरू आउने गरेको यान्त्रिक पुल लिमिटेडका कर्मचारी राजु पौडेलले बताए । झन्डै चार करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यान्त्रिक पुलको गत जेठमा निर्माण सुरु गरिएको थियो । पुल निर्माणसँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका १६ गाविसका बासिन्दा पर्वत सदरमुकाम कुश्मासँग नजिकिएका छन् । बलेवा क्षेत्रका झन्डै डेढ दर्जन गाविसका बासिन्दासँगको सम्बन्ध नजिकिएसँगै अब कुश्माबजारको व्यापार व्यवसायसमेत बढ्न थालेको छ । पुल निर्माणसँगै होटल तथा रेस्टुरेन्टहरू भरिभराउ भएका छन् ।
‘पुलसँगै पर्यटकसमेत बढ्ने अपेक्षाले म पनि होटल तथा रेस्टुरेन्टतर्फ आकर्षित भएँ,’ यान्त्रिक पुलसँगै सिटी कर्नर होटल तथा रेस्टुरेन्ट सञ्चालन गरेका विपिन कर्माचार्यले भने, ‘अहिलेसम्मको व्यापारबाट सन्तुष्ट नै छु ।’ उनले झन्डै सात लाख रुपैयाँ रेस्टुरेन्टमा लगानी गरेको बताए । पुल निर्माण भएपछि त्यसैलाई लक्षित गरेर खोलिएका होटल तथा रेस्टुरेन्टमा झन्डै ८० लाख रुपैयाँ लगानी भएको छ । पुल निर्माण भएपछि दुई दशक अघिदेखि बन्द बलेवा विमानस्थलसमेत सञ्चालनमा आउने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका पुलका अध्यक्ष श्रेष्ठले बताए ।

सुमन थापा÷राजधानी पर्वत, २४ चैत

No comments:

Post a Comment