Sunday, July 7, 2013

बजेट अभावमा तुइन विस्थापन योजना अधुरै


ललितपुर, कार्तिक ११ -
गतवर्ष जेठको तेस्रो साता दार्चुलामा इन्जिनियर राजेन्द्र न्यौपाने तुइनबाट महाकालीमा खसे । एक महिना नबित्दै असार १५ गते गोरखाको घ्याल्चोकबाट तुइन तर्दै गर्दा खसेर पाँच बेपत्ता भए । अघिल्लो वर्ष साउन ११ गते दोलखामा आमाछोरी नदीमा खसेर बेपत्ता भए । दुई महिनाअघि गत जेठमै ललितपुरको देवीचौरमा साँघु तर्दै गर्दा एक बालिकाको वाग्मतीमा खसेर ज्यान गयो । नदीनाला र पहाडको देशमा बाटो र पुल नभएका कारण जनताले बेहोर्नुपरेका शोकका प्रतिनिधि घटना हुन् यी । सरकारले गतवर्ष देशभरका तुइन हटाएर झोलुंगे पुलले विस्थापित गर्ने घोषणा गर्‍यो । स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग -डोलिडार) का इन्जिनियरहरूले देशभर जोखिमयुक्त ढंगले टाँगिएका तुइनको तथ्यांक एकत्रित पारे र तिनलाई विस्थापन गर्न चाहिने लागत पनि निकाले । तर घोषणाअनुसार बजेट नछुट्याउँदा 'तुइन विस्थापन' कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

पछिल्ला वर्ष झोलुंगे पुल निर्माण उत्साहजनक भएको डोलिडारको झोलुंगे पुल शाखाका प्रमुख इन्जिनियर माधव भट्टराई बताउँछन् । 'पछिल्ला वर्ष देशका विकट र अप्ठ्यारो ठाउँमा झोलुंगे पुल बन्नेक्रम बढेको छ,' उनले भने, 'तर एकैपटक सबैतिर निर्माण गर्न नसकिने भएकाले ठाउँठाउँमा हुने दुर्घटना रोकिएको छैन ।' गतवर्ष ३ सय २५ पुल बनेकामा यसपालि चार सयको लक्ष्य रहेको भट्टराईले बताए ।

डोलिडारका इन्जिनियरहरूका अनुसार विभिन्न दाताको सहयोगमा एकत्रित गरी संकलन गरिएको कोषबाट झोलुंगे पुलका लागि बजेट परिचालन गरिएको छ । तुइन विस्तारपनका लागि डोलिडारले तथ्यांकसहित प्रतिवेदन दिएपछि सरकारले त्यसका लागि छुट्टै बजेट भने छुट्याएको छैन । त्यसले गर्दा जोखिम र अप्ठ्यारा ठाउँमा झुन्ड्याइएका तुइनबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीयहरू अझै बाध्य छन् ।

देशभरबाट संकलित तथ्यांकअनुसार तीन सय ६६ झोलुंगे पुलको अवस्था जीर्ण रहेको इन्जिनियर स्मिता शर्माले बताइन् । उनका अनुसार ३६ जिल्लाबाट जीर्ण तुइनको तथ्यांक आएको छ, जसमध्ये कतिपय प्रयोगका लागि उपयुक्तसमेत नभएको जिल्लास्थित प्राविधिक कार्यालयले ठहर गरेका छ । मध्यपहाडी जिल्लाहरू बागलुङमा २९, हुम्लामा २९, रुकुकमा ३२, खोटाङमा ४५, जाजरकोटमा ४ सय २३ र संखुवासभामा २० तुइन जोखिममा रहेको डोलिडारको तथ्यांक छ । राजधानीकै ललितपुरको वाग्मतीमा सात तुइन जोखिमयुक्त छन् ।

खुला र एउटा मात्रै लट्ठाको भरमा झुन्डिएर यात्रा गर्नुपर्ने भएकाले तुइन जोखिमयुक्त मानिन्छन् । दुर्घटनाका कारण विभिन्न ठाउँमा ज्यान जान थालेपछि सरकारले तुइन निर्माण र त्यसका लागि अनुदानका सबै कार्यक्रम रोकेको छ । तर कतिपयले नीजिस्तरमै लट्ठा राखेर तुइन निर्माण गरेकाले खतरामा यात्रा गर्नेको संख्या अनुमानितभन्दा बढी हुने प्रमुख इन्जिनियर भट्टराईले बताए । 'नियमित कार्यक्रमअनुसार नै जोखिमयुक्त ठाउँलाई प्राथमिकता दिएर झोलुंगे पुललाई तुइनले विस्थापित गर्ने लक्ष्य हो,' उनले भने ।

डोलिडारका प्राविधिकहरूको अनुमानअनुसार औसतमा १ सय २५ मिटर लामो पाँच सय झोलुंगे पुल निर्माण गर्ने हो भने पनि देशभरका छ सय तुइन विस्थापन गर्न करिब साढे तीन अर्बभन्दा बढी बजेट चाहिन्छ । झोलुंगे पुलको संरचनाका लागि प्रतिमिटर करिब ५० हजारका दरले खर्च लाग्ने उनीहरू बताउँछन् । अधिकांश पुल मध्य तथा सुदूरपश्चिमका विकट क्षेत्रमा निर्माण हुने डोलिडारले जनाएको छ । 'नियमित बजेटबाट सबै तुइन विस्थापन गर्न अहिलेकै अवस्थामा कम्तीमा चार वर्ष लाग्ने छ,' भट्टराईले भने ।

No comments:

Post a Comment