Thursday, September 5, 2013

केबलकार सञ्चालनका लागि थप चार स्थान उपयुक्त

साउन १३, काठमाडौं । केबुलकार सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको सम्भाव्यता अध्ययनमा थप चार स्थान  उपयुक्त देखिएका छन् । मन्त्रालयले गरेको अध्ययनबाट करीब डेढ अर्बको लागतमा सुनसरी–धनकुटा, कालिकोट, डोटी र काभ्रे जिल्लामा केबलकार निर्माणको सम्भाव्यता देखिएको हो । काभ्रेको धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म, सुनसरीको धरानदेखि धनकुटाको भेंडेटारसम्म, कालिकोटको कोटबाडादेखि चाल्नासम्म र डोटी–खप्तडमा केबलकार बनाउन सकिने सम्भावना देखिएको मन्त्रालयका पर्यटन पूर्वाधार विकास आयोजना प्रमुख प्रकाश रघुवंशीले बताए । चारओटै स्थानमा निर्माणको जिम्मा भने निजीक्षेत्रलाई दिने तयारी गरेको उनले जानकारी दिए ।

मन्त्रालयले रू. २५ लाख खर्च गरेर यस्तो सम्भाव्यता अध्ययन गरेको बताएको छ । अध्ययन प्रतिवेदनअनुसार धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म ११ किलोमिटर लामो केबलकार निर्माण गर्न सकिने छ । सो दूरी पार गर्न केबलकारलाई ३५ मिनेटमात्र लाग्ने बताइएको छ । पलाञ्चोक केबलकार निर्माणका लागि साढे ५३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिवेदनले ४ वर्षमै केबलकार बनाउन सकिने देखाएको छ । प्रतिघण्टा १ सय ८० जना यात्रुलाई आवतजावत गराउन सक्ने पलाञ्चोक केबलकारले ९ वर्षमै लगानी उठाउने  देखिएको छ । पलाञ्चोक केबलकारको सम्भाव्यता अध्ययन ब्रिज कन्सल्ट्यान्सीले गरेको
थियो ।

कालिकोटको केबलकार निर्माणका लागि  रू. १२ करोड २६ लाख लाग्ने देखिएको छ । सो केबलकार मार्गको दूरी १ दशमलव ९ किलोमिटर रहने र सो दूरी पार गर्न केबलकारलाई करीब ८ मिनेट लाग्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिघण्टा १ सय २० जनाले आवतजावत गर्न सक्ने उक्त केबलकार निर्माण गर्न ३ वर्ष लाग्ने देखिएको छ । रोपवे एण्ड केबलकार नामक निजी कम्पनीले गरेको अध्ययनअनुसार सञ्चालनको २ वर्ष १० महीनामा सोमा हुने लगानी फिर्ता हुनेछ ।

धरान र भेंडेटारबीचमा २ दशमलव ८ किलोमिटर लामो केबलकार बनाउन सकिने छ । ८ मिनेट ५ सेकेण्डमा पार गर्न सकिने सो केबलकार निर्माण गर्न रू. ३८ करोड लाग्ने आयोजना प्रमुख रघुवंशीले बताए । ३ वर्षमा बनाउन सकिने धरानको केबलकार सञ्चालनमा आएको साढे ४ वर्षमा लगानी फिर्ता हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । बिजिकर्न इञ्जिनीयर कन्सल्ट्यान्सीले सो केबलकारको सम्भाव्यता अध्ययन गरेको थियो ।

यसैगरी डोटीमा अध्ययन भएको ३ किलोमिटर लामो दूरीको केबलकारको अनुमानित लागत रू. ३९ करोड छ । सो दूरी ८ मिनेट ५ सेकेण्डमा पार गर्न सकिने र निर्माणमा करीब ३ वर्ष लाग्ने पनि प्रतिवेदनमा उल्लेख छ । सञ्चालनमा आएको करीब ५ वर्षमा यसको लगानी उठ्न सक्ने अध्ययनले देखाएको छ । डोटीको यो केबलकारका सम्भाव्यता अध्ययन बिम कन्सल्ट्यान्सीले गरेको हो ।

मन्त्रालयले यसअघि काठमाडौंको चन्द्रागिरि, शिवपुरी, ललितपुरको फुलचोकी, रसुवाको गोसाइँकुण्ड, दोलखाको कालिञ्चोक, मुस्ताङको मुक्तिनाथ र गुल्मीको रेसुङ्गामा केबलकार  सञ्चालनका सम्भाव्यता अध्ययन गरेको थियो । मन्त्रालयले अध्ययन गरेका सबै स्थानमा केबलकार सञ्चालनको सम्भाव्यता देखिए पनि काठमाडौंको चन्द्रागिरिमा मात्र निजीक्षेत्रले केबलकार बनाउन चासो देखाएको छ ।

No comments:

Post a Comment