Monday, June 10, 2013

ट्राफिक जाम घटाउन काठमाडौंका सडकमा केवुलकार


काठमाण्डौंको सडकमा घण्टौं जाममा तपाईलाई कहिलेकाहीँ लाग्दो हो- सडक माथिबाटै उडेर फुत्तै गन्तब्यसम्म पुग्न पाए पनि हुने नी ! अहिलेसम्म तपाईले गरेको यस्तो हावादारी कल्पना अब वास्तविकता हुने भएको छ ।
MEDELLIN-METROCABLE Metro Cable
काठमाण्डौको ट्राफिक जाम हटाउने उदेश्य राखेर नेपालको एक कम्पनीले ब्यस्त सडकमाथि यात्रुबाहक केवुलकार चलाउने तयारी गरिरहेको छ । नेपाल उद्योग बाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाको कम्पनी बिएनएस अर्वन केवुलकार प्रालिले राजधानीका व्यस्त सडकमाथि ‘अर्वन केवुलकार’ संचालन गर्न सम्भाब्यता अध्ययन गरेर सरकारसमक्ष इजाजत मागिसकेको छ ।
‘हाम्रो योजनाअनुसार काम हुन सक्यो भने आगामी चार बर्षमा काठमाण्डौंका सडक केवुलकारमा चढेर पार गर्न सकिने छ’ राणाले अनलाइनखबरसँग भन्नुभयो-’स्वीकृतिका लागि सरकारसमक्ष प्रस्ताव गरेका छौं, प्रकृया अगाडी बढनासाथ विस्तृत अध्ययन थाल्छौं ।’

१ घण्टाको बाटो १५ मिनेटमा
दक्षिण अमेरिकी मुलुकमा पछिल्लो दशकमा अर्बन केवुलकारको अबधारणाले तिब्रता पाएको छ । सन् २००६ मा कोलम्बियाको मेडलिन सिटीमा संचालनमा आएको मेट्रो केवल पहिलो अर्बन केवलकारका रुपमा चिनिन्छ । त्यसबाट प्रभावित भएर ब्राजिल, भेनेजुयला, पोर्टल्याण्ड लगायतका स्थानमा सार्वजनिक यातायातका रुपमा केवलकार निर्माण गरिएको छ ।
MEDELLIN-METROCABLE-1
‘अझै २० बर्ष काठमाण्डौमा मेट्रो रेल बन्न सक्ने अबस्था छैन’ राणाले भन्नुभयो-’काठमाण्डौमा बढ्दो ट्राफिक जामबाट मुक्ति पाउने यो नै सस्तो र उत्तम बिकल्प हो ।’ केवुलकार संचालनमा आएपछि १ घण्टामा पुगिने ठाउँमा १० देखि १५ मिनेटमा पुगिने राणाले बताउनुभयो । कम्पनीले नारायणगोपाल चोकदेखि लगनखेलसम्म र कोटेश्वरदेखि बौद्धसम्म केवुलकार संचालन गर्न सम्भाब्यता अध्ययन गरिसकेको छ । दुई लाइन केवलकार संचालन गर्न १२ देखि १५ अर्ब रुपैयाँसम्म लगानी अनुमान गरिएको राणाले बताउनुभयो । मुख्य मुख्य स्थानमा यात्रु चढ्ने र झर्ने स्टेशनहरु पनि राखिनेछन ।
एउटा डिब्बामा ३० यात्रु
केवुलकारको एउटा डिब्बामा २५/३० जनासम्म अटाउने छन् । काठमाडौंको साँघुरा सडकमा केवुलकार अति उत्तम विकल्प हुने राणाले बताउनुभयो । रेडिमेड पोल ल्याएर गाडिने हुँदा केवुलकारको संरचना निर्माण गर्दा सडक र भौतिक संरचनामा ठूलो फेरबदल गर्नुपर्ने छैन । मेट्रो रेलको तुलनामा केवुलकार सस्तो समेत हुने उहाँको दाबि छ । सरकारले राजधानीका विभिन्न ठाउँमा मेट्रो रेल संचालन गर्नका लागि अध्यायन समेत गरिसकेको छ ।
केवुलकारको भाडा गाडिको लिने भाडा बराबर हुने उहाँले बताउनुभयो । केवुलकार संचालन भएको १०/१५ वर्षमा लगानी सबै उठिसक्ने हुँदा विदेशी कम्पनीहरु अर्वन केवुलकारमा लगानी गर्न उत्सुक रहेका हुन् ।
बिदेशी लगानी, दुई बर्षमा निर्माण सकिने
केवुलकारमा लगानी गर्नका लागि फ्रान्सका २/३ वटा कम्पनीहरु सकरात्मक देखिएको बताउँदै उहाँले भन्नुभयो- ‘फ्रान्सेली कम्पनीहरु यो परियोजनामा लगानी गर्न इच्छुक छन, उनीहरुकै सहयोगमा प्रारम्भिक अध्ययन सकिएको छ ।’
काम सुरु गरेको २ वर्षभित्रमा केवुलकार संचालन भईसक्ने बताउँदै राणाले सरकारले संचालन अनुमति चाँडै दिनेमा भने शंका व्यक्त गर्नुभयो । सरकारले तत्काल अनुमति दिएमा आवश्यक सबै प्रकृया सिध्याएर २ वर्षभित्रमा काम सुरु गरिसक्ने लक्ष्य कम्पनीले लिएको छ । ‘हामीले लगानी गर्छौं भन्दा पनि सरकारले काम गर्न दिँदैन’ उहाँले भन्नुभयो- ‘हामीले जतिसुकै राम्रा प्रोजेक्ट ल्याएपनि सरकारले काम गर्ने अनुमति दिन ढिलाई गरिदिन्छ, त्यसले लगानीकर्ता निराश र हतोत्साही हुन्छन ।’
पर्यटन प्रवर्द्धनका लागि उपर्यूक्त
अर्वन केवुलकार यातायातको लागिमात्र नभएर पर्यटन विकासका लागि पनि अति उपयोगी हुने कम्पनीको विश्वास छ । ‘केवुलकार संचालन भयो भने राजधानीको रुपै परिवर्तन हुनेछ’ राणाले भन्नुभयो- ‘साथै यो वातावरणमैत्री पनि हुनेछ ।’

No comments:

Post a Comment