Friday, June 14, 2013

सिन्धुलीमा नेपालकै लामो यान्त्रिक पुल निर्माण

सिन्धुलीमा नेपालकै दोस्रो लामो यान्त्रिक पुल निर्माण
सिन्धुली र उदयपुर जोड्ने गरी नेपालकै  लामो यान्त्रिक पुल निर्माण भएको छ । ७० लाख रुपैयाँको लागतमा कमला नदीमा यान्त्रिक पुल निर्माण गरिएको हो । पुल निर्माणको लगभग सबै काम सम्पन्न भइसकेको पुल निर्माण समितिका अध्यक्ष गुर्जबहादुर बुढाथोकीले जानकारी दिए । पुल निर्माणले कमलाखोंच क्षेत्रका हर्षाही, टाँडी, लदाभीरलगायत आधा दर्जनबढी गाविसका सर्वसाधारणलाई सिन्धुली सदरमुकाम तथा उदयपुरको सदरमुकाम गाईघाट, जनकरपुरजस्ता शहरमा जान–आउन सजिलो हुने भएको छ । 

उक्त पुल जिल्लाकै सबैभन्दा लामो र तनहुँको कोत्रेपछिको दोस्रो लामो यान्त्रिक पुल भएको अध्यक्ष बुढाथोकीले बताए । यसको लम्बाइ ६ सय ३५ मिटर रहेको छ । यो पुल निर्माणका लागि आर्थिक वर्ष (आव) ०६६÷६७ मा योजना निर्माण तयारी गरिएको थियो । ०६७ सालबाट निर्माण थालिएको उक्त पुल रकम अभावका कारण अहिले (आव २०६९÷७०) मा निर्माण सम्पन्न भएको हो । यो पुल निर्माणका लागि गरीबी निवारण कोष, जिल्ला विकास समिति, गाविस, संसद् विकाष कोष तथा स्थानीय बासिन्दाको लगानी रहेको छ ।

संसद् विकास कोष र जिविससँग भएको सम्झौताअनुसारको रकम आउन ढिलाइ भएका कारण समयमा पुल निर्माण सम्पन्न हुन नसकेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनका अनसार एक हप्ताभित्रमा सबै काम सकेर पुल उद्घाटन गरिनेछ । ‘पुल निर्माणले यस क्षेत्रका स्थानीयहरू उत्साहित भएका छन्,’ उनले भने । पुल नहुँदा स्थानीयवासीलाई कमला नदीमा आउने बाढीले हरेक वर्ष दुःख दिने गरेको थियो । त्यस्तै, कमलाखोंचमा गोगन, करेतजस्ता सर्पको डसाइ पनि अर्को समस्या हो । यसबाहेक औषधोपचार तथा दैनिक उपभोग्य वस्तुको ओसारपसारमा समेत समस्या हुने गरेको थियो ।वर्षेनि वर्षायाम शुरू भएदेखि करीब ६ महीनासम्म कमलानदीमा आउने बाढीले कमलाखोंचवासी सदरमुकामसँग सम्बन्धविच्छेदजस्तै भएर बस्नुपरेको थियो । पुल निर्माणले स्वास्थ्योपचार तथा नदी वारपार गर्न सहज हुने भन्दै स्थानीयहरू खुशी भएका छन् । पुल बनेपछि उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने समस्याबाट मुक्ति मिल्ने आशा बढेको यहाँका सर्वसाधारणको भनाइ छ ।

स्रोत :अभियान दैनिक

No comments:

Post a Comment