
देशको पर्यटकीय राजधानी पोखराको बसुन्धरा पार्कको १ सय आठ रोपनी जग्गा भोगचलनका लागि मनकामना केबलकारले अनुमति पाएपछि पोखराबासी आन्दोलित भएका छन् । सर्वसाधारणबाट अधिग्रहण गरी राजपरिवारका नाममा बसुन्धरा पार्क निर्माण गरिएकामा केबलकार सञ्चालनका लागि जग्गा लिने र दिनेबीच आर्थिक चलखेल भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । केबलकार सञ्चालनका नाममा मनकामना केबलकारले जग्गा तारबार गरी रिसोर्ट बनाउने तयारी गरेपछि पोखराबासी थप आन्दोलित भएका हुन् ।
हरहिसाबले उत्कृष्ट छ र त यहाँ राम्रा नराम्रा दुवै खालका आँखा पनि लाग्छन् । व्यवसाय र विकाससँगै विकृतिले पनि दाउ हेरेको हुन्छ । त्यसैको चपेटामा परेको छ पोखरा उपमहानगरपालिका वडा नम्बर ६ स्थित फेवातालसँगै जोडिएको हरियाली अनि सुन्दर बसुन्धरा पार्क । एक सय आठ रोपनी क्षेत्रफलमा फैलिएको विशाल पार्कलाई समयमा ध्यान पु¥याउन सकिएन भने अब कंक्रिटको जंगलमा परिणत गराउने षड्यन्त्र सुरु भएको छ ।
२०३८ साल पहिलेसम्म मूलाको खेत भनेर चिनिने अहिलेको बसुन्धरा पार्क भएको जग्गा व्यक्तिका नाममा थियो । तत्कालीन सरकारले ०३८ मा फेवा ताल जोगाउन र त्यस जग्गामा विशाल हरियाली पार्क निर्माण गर्न मूलाको खेत अधिग्रहण गरेको हो । तत्कालीन राजपरिवारका सदस्यको नाममा ०५२ मा निर्माण गरियो बसुन्धारा पार्क । पार्कले फेवातालको सुन्दरतालाई कसी लगाउने काम त गरेको छ नै । त्योसँगै प्रकृतिसँग भिज्न चाहनेका लागि वरदान सावित भएको छ । तर ११ कात्तिक ०६६ मा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष योगेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले पोखरेली मात्र नभई सम्पूर्ण प्रकृतिप्रेमीको सपनामा खेलवार्ड गर्दै एउटा निर्णय गरेको छ, ‘बसुन्धरा पार्क मासेर केबलकार चलाउने ।’
त्यसो त पोखराका हरेक खाली जग्गा त्यस्ता नहोलान्, जसमा कसैको गलत आँखा नलागेका होस् । त्यसैको सिकार भयो बसुन्धरा पार्क । स्थानीय व्यक्ति, जग्गादाता र पोखरा उपमहानगरपालिकालाई समेत थाहा नदिई भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले मनकामना दर्शन प्रालिलाई बसुन्धरा पार्कबाट रानीवन हुँदै विश्व शान्ति स्तुपासम्म केबलकार बनाउन स्वीकृति दियो । तर मनकामना केबलकार प्रालिले केबलकार मात्र नभई केबलकारका नाममा बसुन्धरा पार्कको एकसय आठ रोपनी जग्गा पूरै घेरेर त्यहाँ रिसोर्ट, स्वीमिङपुल, हल, रेस्टुरेन्टलगायतका संरचना बनाउने मास्टर प्लानसहितको नक्सा बनाएर मन्त्रालयबाट स्वीकृति पाइसकेको छ ।
जब यो कुरा सार्वजनिक भयो । अहिले समस्त पोखरेली जनता, पर्यटन व्यवसायी, जग्गादाता, बसुन्धरा पार्क बचाउ समिति बनाएर आन्दोलनमै होमिएका छन् । कानुनतः हेर्ने हो जग्गा प्राप्तिसम्बन्धी ऐन–०३४ मा उल्लेख छ, ‘व्यक्तिगत जग्गा जे उद्देश्यका लागि अधिग्रहण गरिएको हो, त्यही प्रयोजनमा प्रयोग नभएको खण्डमा साविकका जग्गाधनीलाई नै फिर्ता दिनु पर्छ ।’ नगरविकास ऐनअनुसार पनि कुनै पनि मठमन्दिर, धार्मिकस्थललगायत सार्वजनिक जग्गा अन्य प्रयोजनका लागि प्रयोग गर्नु परे सम्बन्धित सरोकारवाला सबै राखेर सार्वजनिक सुनुवाई गर्नु पर्ने प्रावधान छ ।
बसुन्धरा पार्कको सन्दर्भमा यो काम भएको छैन । रानीवन मासेर केवलकार लैजाँदा जैविक विविधतामा उस्तै प्रभाव पर्ने भन्दै जिल्ला वन कार्यालय कास्कीलगायतका निकायले खबरदारी गरिरहेका छन् । केही समयअघि मनकामना केबलकार प्रालिका तर्फबाट बसुन्धरा पार्कमा माटो परीक्षणका लागि पुगेका इन्जिनियरसहितको टोलीलाई पोखराबासीले धपाएका थिए ।
यता सर्वोच्च अदातलमा अधिवक्ता भगवती पहारीले जे उद्देश्यका लागि अधिग्रहण गरिएको हो, त्यहीअनुरुप बसुन्धरा पार्कको काम अगाडि बढाइयोस् भन्दै रिट दायर गरेकी छन् । उता पोखरामा बसुन्धरा पार्क बचाउन पोखराबासी, जग्गादाता, पर्यटन व्यवसायसँग आवद्ध सबै संघसंस्था, उद्योग वाणिज्य संघ सबै एकजुट भएका छन् ।
यतिमात्र नभई कास्की जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने एघार सभासद्ले बसुन्धरा पार्क बचाउ समितिको अभियानमा ऐक्यबद्धता जनाउँदै कुनै पनि हालतमा पार्क मासेर अन्य संरचना निमार्ण गर्न नदिने उद्घोष गरेका छन् । पोखराका पर्यटन व्यवसायी एवं जग्गादाता नरेश भट्टराई भन्छन्, ‘जे उद्देश्यका लागि हामीले जग्गा दिएका हौँ, त्यो हुँदैन भने हाम्रो जग्गा हामीलाई नै फिर्ता दिनु पर्छ राज्यले ।’
त्यस्तै अर्का पर्यटन व्यवसायी बासु त्रिपाठी भन्छन्,‘बसुन्धरा पार्क त सुरुवातमात्रै हो, अब पोखराका हरेक खाली जग्गाका हिसाबकिताब खोजिने छ ।’ पोखरामा बुन्धरा पार्क बचाउ अभियान टक अफ दि टाउन बनेको छ । बसुन्धरा पार्कको अस्तित्व लोप पार्ने गरी बन्ने भनिएको योजनाविरुद्ध स्थानीयदेखि पर्यटन व्यवसायी र जग्गादातादेखि सभासद्सम्म एक स्वरमा बोलिरहेका छन् । अर्कातर्फ मुद्दा सर्वोच्चसम्म पुगिसकेको छ । त्यसैले बसुन्धरा पार्कको संरक्षण हुने सम्भावना बलियो बन्दै गएको छ । मनकामना केबलकारले कतैबाट सहयोग पाएको देखिएको छैन ।




मनकामना केबलकारले बनाएको योजना ।

Source: Sounepalese.org
No comments:
Post a Comment