Wednesday, August 12, 2015

पोखराको वसुन्धरापार्कबारे लेखा समितिको चासो, स्थानीयवासी भन्छन् केबलकार बनाउने स्थान अन्यत्र खोज

webKoblenz

काठमाडौँ, २२ साउन । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले कास्कीको वसुन्धरा पार्कबाट केबलकार सञ्चालन गर्न दिन नहुने भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
पोखरामा हरियाली बढाउने उद्देश्यका साथ अधिग्रहण गरिएको कुल १०८ रोपनी जग्गामा केबलकार बनाउन लागेको भन्दै कास्कीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुले लेखा समितिको ध्यानाकर्षण गराएका थिए ।
सभासद् तथा स्थानीयवासीले केबलकार बनाउने विषयमा ध्यानाकर्षण गराएपछि के भएको हो र किन अनुमति दिइएको हो भन्ने विषयमा बुझेर मात्रै निर्णय गरिने लेखा समितिका सभापति जनार्दन शर्माको भनाइ छ ।
समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई सो विषयमा प्रष्ट पारी समितिलाई जानकारी गराउन निर्देशन दिएको छ । समितिमा कास्कीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने रवीन्द्र अधिकारी, यज्ञबहादुर थापा, सीता गिरी ओली र कुमार खड्कालगायतले ध्यानाकर्षण गराउनुभएको थियो ।
भौतिक पूर्वाधार मन्त्रालयले समितिमा जवाफ पठाएपछि आवश्यक निर्णय लिइने सभापति शर्माको भनाइ छ । पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदाममा रहेको वसुन्धरापार्कमा केबलकारको मुख्य प्रस्थानबिन्दु बनाउन नहुने माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।
मनकामना दर्शन प्रालिले फेवातालको किनाराबाट पुम्दीभुम्दीको शान्तिस्तुपसम्म १.३ किलोमिटर दूरीको केबलकार निर्माणको तयारी गरेको थियो । केबलकार निर्माणका लागि केही महिना अगाडि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको १०८ रोपनी क्षेत्रफलको वसुन्धरा पार्क मनकामना दर्शनलाई प्रदान गरेको थियो ।
सार्वजनिक निजी साझेदारी तथा निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) अवधारणाअनुसार २० वर्षपछि कम्पनीले केबलकार सरकारलाई हस्तान्तरण गर्ने सर्तमा मनकामना दर्शन प्रालिले सो जग्गा प्राप्त गरेको हो । करिब रु एक अर्ब ३० करोड लागतमा केबलकार निर्माण हुने मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
वसुन्धरा पार्कलाई पार्ककै रुपमा राखिनुपर्ने र कुनै निजी कम्पनीलाई दिन नहुने स्थानीयवासीको माग छ । सरकारले २०३८ सालमा फेवाताल किनारामा ग्रिनबेल्ट निर्माणको लागि सो जग्गा अधिग्रहण गरेको जग्गादाता रमेशबहादुर भट्टराईले बताउनुभयो ।
“जग्गा प्राप्ति ऐन २०३४ अनुसार जुन प्रयोजनको लागि जग्गा लिइएको हो त्यही काममा प्रयोग हुनुपर्छ, हैन भने हाम्रो जग्गा हामीलाई फिर्ता दिनुपर्छ”, केबलकार निर्माणको विरोधमा रहनुभएका उहाँले भन्नुभयो, “पार्क मासेर रेस्टुराँ बनाउन मिल्दैन ।”
केबलकार निर्माण कम्पनीले वसुन्धरापार्कमा केबलकारको प्रस्थानबिन्दु बनाउन करिब सात रोपनी जग्गा प्रयोग गर्ने र बाँकीमा रेस्टुराँ, वाटरपार्क र मनोरञ्जनात्मक क्षेत्र निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो । बाँकी जग्गा पार्ककै रुपमा रहनेसमेत निर्माण कम्पनीले जनाएको थियो ।
तर, जग्गादाता तथा वसुन्धरापार्कको छेउमै माउन्ट कैलाश नामक होटल सञ्चालन गर्दै आउनुभएका नरेशबहादुर भट्टराईले पार्कमा होटल बनाउन खोजिएको आरोप लगाउनुभयो ।
निर्माण कम्पनीले स्पष्टसँग सबै जग्गा उपयोग गर्ने भनेपछि त्यहाँ सर्वसाधारणले निःशुल्क प्रवेश नपाउने तर्क गर्दै उहाँले भन्नुभयो– “तालको किनारामा रहेको सुन्दर पार्कलाई मासेर होटल बनाउनु कहाँसम्म जायज हो ?”
भूकम्पले पार्क, खेलमैदान र खाली जग्गाको आवश्यकताबोध गराएकाले पनि वसुन्धरापार्क पार्ककै रुपमा रहनुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाको भनाइ छ । अर्को कुनै स्थानबाट केबलकार बनाए आपत्ति नहुने बताउँदै उहाँले भन्नुभयो– “फेवातालको किनारामा रहेको पार्क मास्नु भनेको पोखरालाई कुरुप बनाउनु हो ।”
स्थानीयवासीले गठन गरेको ‘वसुन्धरापार्क बचाउ समिति’का संयोजक गिरिराज गौतमले वसुन्धरापार्कमा कुनै पनि हालतमा व्यक्तिगत हितका लागि केबलकार बन्न नदिने उद्घोष गर्नुभयो ।
कास्कीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् रवीन्द्र अधिकारीले समेत केही समय अगाडि पोखरामा आयोजित सार्वजनिक कार्यक्रममा स्थानीयवासीको मागमा सहमति जनाउँदै सार्वजनिक जग्गा मासेर फेवाताल नै कुरुप बनाउने गरी केबलकार बन्न नदिने उद्घोष गर्नुभएको थियो ।
पर्यटन व्यवसायी निलकण्ठ शर्माले वातावरणीय दृष्टिले समेत फेवातालमाथि केबलकार बनाउनु उपयुक्त नभएको धारणा राख्नुभयो । फेवातालबाट शान्तिस्तूपासम्मको दूरीलाई डुङ्गा सयर र त्यसपछि छोटो पदयात्रा मार्गको रुपमा विकास गरे पोखरामा पर्यटकको बसाइ लम्ब्याउन सकिने उहाँको भनाइ छ ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले आफूहरु केबलकार निर्माणको विरोधमा नभएको र अन्यत्र कुनै पनि ठाउँबाट केबलकार निर्माण गरे त्यसको स्वागत गरिने बताउनुभयो ।
उता पुम्दीभुम्दीवासी भने केबलकार निर्माणको पक्षमा देखिएका छन् । आफ्नो क्षेत्रको विकास हुने, रोजगारी पाइने तथा आर्थिक गतिविधि बढाउन केबलकार सहायक हुने दाबी गर्दै स्थानीयवासी तथा पत्रकार राजु क्षेत्रीले भन्नुभयो– “जनताले विकास चाहेका छन्, हामी जुनसुकै हालतमा पनि केबलकार बनोेस् भन्ने चाहन्छौँ ।”
रमेश लम्साल÷वासुदेव मिश्र
weekly nepal