Monday, April 8, 2013

यान्त्रिक पुलको भाडादर समायोजन गरिने

 

पर्वत, २५ चैत- पर्वत उद्योग वाणिज्य संघद्वारा प्रवद्र्धित कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडले यान्त्रिक पुलको भाडादर समायोजन गर्ने भएको छ ।
प्रालिको आइतबार सम्पन्न बैठकले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी दररेट परिवर्तन गरेको छ, जसअनुसार नर्मल टिकट १ सय, बलेवा क्षेत्रका १६ गाविसका लागि ७५ रुपैयाँ, नियमित ओहोरदोहोर गर्ने यात्रुका लागि मासिक २ हजार र दैनिक टिकट लिनेहरूलाई प्याकेजको दरमा ५० रुपैयाँमा उपलब्ध गराउने भएको छ ।
अहिले एकतर्फी ५० रुपैयाँमा यात्रुहरू आवतजावत गर्दै आएका छन् । प्रालिले ३ वर्षदेखि १० वर्षसम्मका बालबालिकाका लागि  ४० रुपैयाँ, अपांगता भएकाहरूलाई ५० रुपैयाँ कायम गरेको छ । त्यस्तै सामान ढुवानीका लागि स्थानीय उत्पादन र व्यावसायिक सामानका लागि प्रतिकिलोग्राम १ र अन्यका लागि  २ रुपैयाँ कायम गरेको जनाएको छ । त्यसैगरी खसी बोका प्रतिगोटा १ सय, कवाडी सामान प्रतिकिलो २ रुपैयाँ कुखुराको दाना प्रतिकिलो दुई र रातिको समयमा आपत्कालीन सेवा सञ्चालन गरेबापत २ हजार रुपैयाँ कायम गरिएको छ ।
बलेवा क्षेत्रमा घर भई सदरमुकाम कुश्माबजारमा पठनपाठन गर्ने विद्यार्थीका लागि नियमित ६० रुपैयाँमा टिकट उपलब्ध गराइने निर्णय भएको यान्त्रिक पुल प्रालिका सचिव केदारनाथ शर्माले जानकारी दिए ।
एक महिनाअघिदेखि सञ्चालनमा आएको पुलमा ९ हजार ६ सय जना ओहोरदोहोर गरिसकेका छन् । १ महिनाको अवधिमा ९ लाख ३१ हजार ९४ रुपैयाँ आम्दानी गर्न सफल भएको प्रालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । आम्दानीभन्दा खर्चको मात्रा वृद्धि भएकाले यात्रुहरूलाई मर्का नपर्ने गरी मूल्यमा सामान्य समायोजन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उक्त पुलमा अहिले दैनिक ५ देखि ७ सय जना सम्म वारपार गर्ने गरेका छन् । पुलमा यात्रा गर्नका लागि पर्वत जिल्लाका आसपासका गाविसका साथै अन्य जिल्ला र बाह्य पर्यटकहरूसमेत आकर्षित भएका छन् । पुल सञ्चालनमा आएसँगै दुई घण्टाको पैदलयात्रा गरेर सदरमुकाम कुश्माबजार आउन बाध्य बलेवा क्षेत्रका बासिन्दाहरू पाँच मिनेटमै आउन सक्ने भएका छन् । करिब ४ करोडको लागतमा निर्माण सम्पन्न पुलका लागि पर्वत र बागलुङ क्षेत्रका ४ सय ३६ जनाले सेयर लगानी गरेका थिए ।

लक्ष्मीप्रसाद सापकोटा/कारोबार

No comments:

Post a Comment