Tuesday, April 9, 2013

भारी पाउन छाड्यो 'रोपवे'ले



भट्टेडाँडाको रोपवेका प्राविधिक राजकुमार सिङ्गार आजभोलि फुर्सदिला छन् । रोपवेमा अति धेरै 'माल' को लोड भए पनि तीन टि्रपभन्दा हुँदैन । दस वर्षअघि देशभर विकासे उदाहरण र नमुना बनेको भट्टेडाँडाका दुई रोपवेमध्ये एउटा तीन वर्षदेखि बन्द छ भने गाउँ-गाउँमा मोटरबाटो पुगेपछि अर्कोले पनि पहिलेजति 'सामान र लोड' पाउन छाडेको छ ।
'चाडबाड र गाडी नचलेका बेला अलि बढी सामान पठाउनुपर्छ,' सिङ्गारले भने, 'नत्र कहिलेकाहीँ दुई
टि्रप पनि हुँदैन ।' दूध ओसार्नुपर्ने भएकाले कम्तीमा दिनको एकपटक रोपवे चल्छ । करिब पाँच वर्षअघि निर्माण भएको भट्टेडाँडा इकुडोल जोड्ने रोपवेले पहिल्ला दिनहरूमा भारी पाउन छाडेको छ । गाउँ गाउँमा पुगेको सडक सञ्जाल, सञ्चारको सुविधा लगायतका कारणले रोपवेले बोक्ने सामान सीमित हुँदै गएको स्थानीयवासीहरू बताउँछन् ।
पहिले एकैपटक १५ सय किलोग्राम सामान बोक्ने १६ सय मिटर लामो नयाँ रोपवेले अहिले एकपटकमा मुस्किलले तीन क्विन्टल 'माल' ओसार्छ । 'सामान भए यस्तै वषर्ायाममा दिनको तीन पटकसम्म चल्छ,' अपरेटर सिङ्गारले भने । तीन स्टेसन रहेको रोपवेले प्रतिकिलो एकदेखि तीन रुपैयाँ शुल्क लिने गरेको छ । तार र पुर्जा मक्किएका कारण लोड कम गर्दैै लग्नुपरेको अपरेटरहरूको भनाइ छ ।
रोपवे उपभोक्ता समितिका सचिव पासाङ स्याङ्तानले मोटरबाटो नियमित सञ्चालनमा आएपछि इकुडोल गाविसको केही सीमित भेगका बासिन्दाले मात्रै फाइदा लिएको बताए । 'अहिले सबैतिर मोटर जान थालेपछि रोपवे महँगो र झन्झटिलो हुने भयो,' स्याङ्तानले भने, 'बाटो नपुगेको केही भेगमा मात्रै रोपवेबाट सामान ओसारेका छौं ।' उनका अनुसार बिहान नियमित दूध आपूर्ति हुन्छ भने चामललगायत उपभोग्य र अन्य निर्माण सामग्री गाउँतिर लैजान रोपवेको उपयोग हुन्छ ।
बीचको भागमा पर्ने गोसडाँडा, बीसडाँडामा सामान झार्न र थप्न मिल्ने सहायक स्टेसन छन् । स्थानीय बासिन्दाले हिंडेर चार घन्टा लगाउने बाटोे रोपवेले २५ मिनेटमा छिचोल्छ । तर सयौैं बोरा सामान मिनीट्रकले एकैपटक बोक्न थालेपछि रोपवेबाट ओसार्न गाउँलेहरू महँगो र झन्झटिलो मान्छन् । 'हाम्रो गाउँमा बाटो नआएकाले मात्रै हो, नत्र खल्तीको पैसा हालेर चलाउनुपर्ने अवस्था छ,' स्याङ्तानले भने । उनका अनुसार रोपवेको डिब्बा गुडाउन टावरहरूमा प्रयोग हुने स्पूल, स्टेसनको मोनिटर लगायतका उपकरण बारम्बार बिगि्ररहने हुनाले सञ्चालन खर्चिलो बनेको छ । जिविस तथा गाविस, गरिबी निवारण कोष, भौतिक योजना तथा निर्माण मन्त्रालय र स्थानीय श्रमदान गरी एक करोड ३७ लाख रुपैयाँको लागतमा पाँच वर्षअघि नयाँ रोपवे निर्माण भएको थियो ।
भट्टेडाँडाकै अर्को रोपवे केही वर्षदेखि बन्द छ । कान्तिराजपथ वषर्ायाममा समेत सञ्चालन हुन थालेपछि भट्टेडाँडा-झाँक्रीडाँडा जोड्ने रोपवेका तार र डिब्बामा खिया लाग्न थालेको छ । 'मोटरबाटो खुलेपछि रोपको कामै रहेनछ, केही वर्षदेखि त्यत्तिकै थन्किएको छ,' झाँक्रीडाँडा-भट्टेडाँडा रोपवे उपभोक्ता समितिका पूर्वअध्यक्ष टेकरनाथ तिमिल्सिनाले भने, 'अब त किन र केका लागि चलाउने भन्ने अवस्था आयो ।'
एक दशकअघिसम्म राजधानी नजिकैको तर सडक नपुगेको भट्टेडाँडा र आसपासका बासिन्दाका लागि रोपवे भरोसा थियो । तर कान्तिराजपथमा नियमित यातायात सञ्चालन हुन थालेपछि रोपवेबाट सामान ढुवानी महँगो हुन थाल्यो । सञ्चालक समितिका पदाधिकारीहरूका अनुसार ढुवानी खर्च, अपरेटका लागि पारिश्रमिक, पार्टपुर्जाको खर्चिलो मर्मतका कारण रोपवे बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो । रोपवेका डिब्बाहरू 'टेसन' नीलो जस्तापाताको छाप्रामुनि खिइएर रहेका छन् । 'अब त कुनै हालतमा चलाउन सकिएलाजस्तो छैन,' तिमिल्सिनाले भने, 'खर्च नलाग्ने भए सामान सबै प्रशासनमा लगेर बुझाइदिनु हुन्थ्यो ।' करिब एक दशकअघि जिविसलगायत विभिन्न दातृ निकायले ८० लाख रुपैयाँको लागतमा भट्टेडाँडाको पहिलो रोपवे निर्माण गरिदिएका थिए ।
स्रोत: कान्तिपुर